धनगढीका विभिन्न खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन हुने

धनगढी । धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघबीच स्थानीयस्तरमा फुटबलको आधारभूत विकास तथा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार उपमहानगरपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा फुटबलको आधारभूत विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रम वडा नम्बर १ को कभर्डहल खेल मैदान, वडा नम्बर २ को सूक्ष्म वर्गीकरण नजिकको खेल मैदान, वडा नम्बर ३ को प्रस्तावित नयाँ बसपार्क खेल मैदान, वडा नम्बर ५ को यातायात नजिकको श्रीकृष्ण खेल मैदान, वडा नम्बर ६ को धनगढी पोलिटेक्निक खेल मैदान र वडा नम्बर ७ को पटेलास्थित खेल मैदानमा सञ्चालन हुनेछ।
त्यस्तै वडा नम्बर ८ को धनगढी नमुना माध्यमिक विद्यालय, वडा नम्बर ११ को दक्षिणकाली आधारभूत विद्यालय, वडा नम्बर १२ को मनकामना युवा क्लब, वडा नम्बर १३ को जनता राष्ट्रिय माध्यमिक विद्यालय तथा नवज्योति आधारभूत विद्यालय नजिकका खेल मैदानमा पनि कार्यक्रम सञ्चालन गरिने सम्झौतामा उल्लेख छ।
वडा नम्बर १४ को टाउन प्लानिङ खेल मैदान, वडा नम्बर १७ को पथरी पुल नजिकको मैदान तथा डुमौलिया खेल मैदान, वडा नम्बर १८ को प्रस्तावित स्टेडियम खेल मैदान र वडा नम्बर १९ को फूलबारी माध्यमिक विद्यालयको खेल मैदानलाई पनि कार्यक्रममा समेटिएको छ।
स्थानीय तहमा फुटबलको आधार बलियो बनाउने, विद्यालय तथा सार्वजनिक खेल मैदानलाई नियमित खेलकुद गतिविधिमा उपयोग गर्ने र बालबालिका तथा युवालाई फुटबल प्रशिक्षणको अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
धनगढी उपमहानगरपालिकाले यसअघि नै दुई वर्षदेखि ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गर्दै आएको छ। नयाँ सम्झौतासँगै कार्यक्रमलाई थप व्यवस्थित र वडास्तरसम्म विस्तार गर्ने तयारी गरिएको हो।




प्रतिकृया दिनुहोस्