स्पेनमा तीव्र गतिको रेल दुर्घटना : ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं । स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।
बुधबार बिहान राजधानी म्याड्रिडबाट सेभियातर्फ गइरहेको रेल ट्र्याकमा रोकिराखिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटना म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने मोरा र ओर्गाज नगरपालिकाबीच भएको जनाइएको छ।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबीपछि भएको मानवीय त्रुटि दुर्घटनाको मुख्य कारण देखिएको छ। प्रणालीमा समस्या आएपछि ट्र्याकमै रोकिएको निजी रेल सञ्चालक कम्पनी इरियोको रेलमा १४७ यात्रु सवार थिए।
पुएन्तेका अनुसार प्रणालीमा खराबी आएपछि म्याड्रिडस्थित २४ घण्टा सञ्चालन हुने नियन्त्रण केन्द्रले रेल सञ्चालनको जिम्मेवारी सम्हालेको थियो। तर, कुनै गति सीमा नतोकी रेललाई पुनः सञ्चालन गर्न दिइएको निर्णय ‘अस्पष्ट र बुझ्न नसकिने’ रहेको उनले बताएका छन्।
इरियोले भने आफ्नो रेललाई सरकारी रेल कम्पनी रेन्फेले सञ्चालन गरेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको जनाएको छ। रेन्फेको रेलमा ३९७ यात्रु सवार थिए।
दुर्घटनापछि रेलका डिब्बामा यात्रुहरू फसेका थिए। केही यात्रु बाहिर निस्कन झ्याल फुटाउन बाध्य भएका थिए भने एउटा डिब्बामा आगलागीसमेत भएको थियो। प्रत्यक्षदर्शीका अनुसार यात्रुहरू उछिट्टिएका, रगताम्य अवस्थामा रहेका तथा भग्नावशेषमुनि पुरिएका थिए। उद्धारका लागि दर्जनौँ एम्बुलेन्स घटनास्थल पुगेका थिए भने गम्भीर घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो।
दुर्घटनामा घाइते तथा मृतकको पहिचानका लागि स्पेनको सिभिल गार्डले आफन्तबाट डिएनए नमुना संकलन गर्नुपर्ने जनाएको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले घटनास्थलको निरीक्षण गर्दै दुर्घटनाबाट ‘सम्पूर्ण स्पेन शोकमा रहेको’ बताएका छन्।
यो दुर्घटना सन् २०१३ यताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटना बनेको छ। सन् २०१३ मा उत्तरपश्चिमी स्पेनको सान्टियागो दे कम्पोस्टेलानजिक भएको रेल दुर्घटनामा ८० जनाको मृत्यु भएको थियो। यसअघि जनवरीमा कोर्डोबानजिकै भएको तीव्र गतिको रेल दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो।
नेपाल सरकारद्वारा दुःख व्यक्त
स्पेनको टोलेडो प्रान्तमा भएको रेल दुर्घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले बुधबार राति सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको हो।
मन्त्रालयले घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै दुर्घटनाबाट प्रभावित स्पेन सरकार, त्यहाँका जनता तथा सबैप्रति नेपालको विचार र ऐक्यबद्धता रहेको जनाएको छ।



प्रतिकृया दिनुहोस्