दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरालाई ६ विकेटले हरायो

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतक र इशान पाण्डेसँगको निर्णायक साझेदारीको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो। पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले ३६ बलमा ४ चौका र २ छक्कासहित अविजित ५१ रन बनाए। तीन विकेट गुमाएर दबाबमा परेको अवस्थामा दीपेन्द्रले इशान पाण्डेसँग मिलेर चौथो विकेटका लागि ७४ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोहोर्याए।
इशानले ३१ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाए। उनी १६औँ ओभरमा १३० रनको अवस्थामा आउट भए। त्यसपछि आएका शेरफेन रदरफोर्डले ४ बलमा अविजित ८ रन बनाए। उनले एक छक्का प्रहार गरे।
यसअघि लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले सुरुवातमै दुई विकेट गुमाएको थियो। विनोद भण्डारी ४ रनमा पहिलो ओभरमै बोल्ड भए। त्यसपछि ब्रान्डन म्याकमुलेनले १२ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए पनि चौथो ओभरको अन्तिम बलमा एलबीडब्लु आउट भए।
सइफ जइब १६ बलमा १५ रन बनाएर रनआउट भएपछि सुदूरपश्चिम ५६ रनमा तीन विकेट गुमाएर दबाबमा परेको थियो। तर, दीपेन्द्र र इशानले सम्हालिएको ब्याटिङ गर्दै खेलको दिशा नै परिवर्तन गरे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। अर्जुन घर्तिमगरले २५ बलमा ४ चौका र १ छक्कासहित अविजित ४० रन बनाए। मेहदी हसनले ३२, कप्तान कुशल भुर्तेलले २१, शकिब अल हसनले १४ र धनञ्जय लक्षनले ११ रन जोडे।
पोखराले नियमित अन्तरालमा विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन। १४ रनमै पहिलो विकेट गुमाएको पोखरा ६८ रनमा तीन, ७८ रनमा चार र ८३ रनमा पाँच विकेट गुमाउने अवस्थामा पुगेको थियो। अर्जुनले अन्तिमसम्म क्रिज सम्हालेपछि पोखराले १४५ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो।
सुदूरपश्चिमका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा २३ रन खर्चिए। कप्तान दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चेर एक विकेट लिए। हेमन्त धामीले एक तथा स्कट कुगेलेइनले एक विकेट लिए।
यो जितसँगै पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिमले एनपीएलमा जितको खाता खोलेको छ। पोखराले भने प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको छ।



प्रतिकृया दिनुहोस्