October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

रवि-बालेन भेट चार घण्टा : अध्यादेशदेखि आईजीपीसम्म छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा बुधबार करिब चार घण्टा लामो भेटवार्ता भएको छ। सरकारले ल्याउने तयारी गरेको अध्यादेश, रास्वपा सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरण र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसम्बन्धी विषयमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ।

आइतबार मध्यराति एयर इन्डियाको जहाजबाट काठमाडौं फर्किएका लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बुधबार बिहान मुख्य सल्लाहकार कुमार बेनसहित बूढानीलकण्ठ पुगेका थिए। उच्च सुरक्षा स्रोतका अनुसार बिहान सवा १० बजेदेखि दिउँसो सवा २ बजेसम्म दुई नेताबीच छलफल भएको थियो।

सरकारी स्रोत र रास्वपा निकट स्रोतले पनि भेट भएको पुष्टि गरेका छन्। दुई नेताबीच लामो समय छलफल भएकै कारण बुधबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठकसमेत बिहीबारका लागि सारिएको स्रोतको दाबी छ। संवेदनशील विषयमा साझा धारणा बनाउनुपर्ने भएकाले भेट लामो भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार सरकारले ल्याउने तयारी गरेको अध्यादेशबारे छलफललाई पहिलो प्राथमिकता दिइएको थियो। त्यसैगरी, सांसद खगेन्द्र सुनारको पछिल्लो विवादित अडियो प्रकरणलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा समेत कानुनी तथा राजनीतिक विकल्पबारे परामर्श भएको बताइएको छ।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसम्बन्धी विषयमा पनि दुई नेताबीच मतविमर्श भएको स्रोतको दाबी छ। विशेषगरी कार्कीसँग जोडिएको केही विषय र उनीसँग सम्बन्धित आरोपबारे छलफल भएको बताइएको छ। यद्यपि, बाहिर आएका कतिपय विषय तथ्यमा आधारित नभएको भन्दै संयमित ढंगले अघि बढ्नुपर्ने धारणा पनि छलफलमा राखिएको स्रोतको भनाइ छ।

कार्कीसँग जोडिएको प्रहरी पोशाकलगायत विषयमा बिहीबार सिंहदरबारमा संसदीय उपसमितिको बैठकसमेत बोलाइएको छ। रास्वपाले कुनै विषयलाई आधार बनाएर आईजीपी कार्कीलाई हटाउन दबाब दिन सक्ने चर्चा भइरहेका बेला उनको स्थानमा सम्भावित प्रहरी प्रमुखका विषयमा भने लामिछाने र शाहबीच समान धारणा नरहेको स्रोतको दाबी छ।

भेटमा लामिछानेको पछिल्लो भारत भ्रमणबारे पनि कुराकानी भएको बताइएको छ। व्यक्तिगत प्रयोजनका लागि भएको भ्रमणका क्रममा भएका भेटघाट तथा विषयबारे लामिछानेले प्रधानमन्त्री शाहलाई जानकारी गराएको स्रोतको भनाइ छ। प्रधानमन्त्री शाहले समेत मंसिरको पहिलो साता नयाँदिल्ली भ्रमण गर्ने तयारी गरिरहेका छन्। पछिल्ला दिनमा सरकारका केही मन्त्री तथा रास्वपा नेताहरूको भारत भ्रमणसमेत बढेको छ।

यी विषयबाहेक सरकारका आगामी नीतिगत तथा प्रशासनिक निर्णय, सम्भावित राजनीतिक नियुक्ति र अन्य समसामयिक विषयमा समेत दुई नेताबीच छलफल भएको स्रोतले जनाएको छ। यद्यपि, भेटवार्ताको विस्तृत विवरणबारे प्रधानमन्त्री र रास्वपा दुवै पक्षका निकटस्थ नेताहरूले औपचारिक रूपमा केही बताएका छैनन्।

रवि लामिछाने र बालेन शाहबीच करिब दुई महिनापछि यो भेट भएको हो। भेटको औपचारिक पुष्टि दुवै पक्षले नगरे पनि सुरक्षा तथा राजनीतिक स्रोतबाट भने भेटवार्ता भएको जानकारी आएको छ।