ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश ‘क्रिटिकल’ अवस्थामा पुगेको दाबी गर्दै मुलुकको रक्षा र पार्टीको राजनीतिक भविष्यका लागि नयाँ आन्दोलनको तयारी गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आन्दोलनबाट भागेर वा आन्दोलन गर्ने आँट नगरेर अहिलेको परिस्थितिबाट देशलाई पार लगाउन नसकिने बताए। उनले तत्काल, तिहारपछि वा छठपछि जुनसुकै बेला आन्दोलन आवश्यक पर्न सक्ने भन्दै पार्टीलाई मानसिक रूपमा तयारी अवस्थामा रहन निर्देशन दिए।
‘यति असहज र अप्ठ्यारो स्थिति छ, आन्दोलनबाहेक अर्को कुराबाट जान खोज्यौँ भने, आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ,’ ओलीले भने, ‘आन्दोलनले टिकाउने हो, आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो।’
ओलीले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको कुरा गरेर जनतालाई भ्रममा पारिरहेको आरोप पनि लगाए। उनका अनुसार त्यस्ता शक्तिहरूले हिंसा, आतंक, आगजनी, लुटपाट र कुटपिटलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्ने प्रयास गरिरहेका छन्।
सरकारले बलजफ्ती शासन अघि बढाइरहेको आरोप लगाउँदै ओलीले नेपाल प्रहरीले समेत बर्दीबिनै पक्राउ गर्न जाने गरेको दाबी गरे। ‘बोल्यो कि पुर्जी, बोल्यो कि गिरफ्तारी’ हुने अवस्था सिर्जना गरिएको उनको आरोप थियो। बर्दीबिनै घरमा पुगेर बलपूर्वक पक्राउ गर्ने शैलीप्रति उनले आपत्ति जनाए।
ओलीले वर्तमान राज्य व्यवस्था ‘फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको’ आरोपसमेत लगाए। सिंगो राज्यले नै नागरिक स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्था सिर्जना भएको दाबी गर्दै उनले एमालेले आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प नरहेको बताए।
‘अहिले भरे, भोलि, तिहारपछि, छठपछि होस्, तर हामी मानसिक रूपमा तयारीमा हुनुपर्छ। भित्रभित्रै तयारी अवस्थामा रहनुपर्छ,’ ओलीले भने।
आगामी निर्वाचनलाई समेत लक्षित गर्दै ओलीले स्थानीय र प्रदेश तहको निर्वाचनमा एमालेविहीन देश बनाउने योजनालाई असफल पार्ने गरी तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिए। गत निर्वाचनमा एमालेलाई पराजित गर्न खोजिएको दाबी गर्दै उनले यसपटकको निर्वाचनबाट त्यस्ता प्रयासलाई ‘दिवा स्वप्न’मा परिणत गरिदिनुपर्ने बताए।



प्रतिकृया दिनुहोस्