अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?

काठमाडौं । अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब सम्बन्धित जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ। गृह मन्त्रालयको परिपत्रअनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयबाटै अन्य जिल्लाबाट जारी भएका नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्नेछन्।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट प्रतिलिपि लिन पाउनेछन्। कोशी र मधेस प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले भने जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट प्रतिलिपि लिन सक्ने व्यवस्था गरिएको छ।
प्रतिलिपि लिन चाहने नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। नागरिकता प्रमाणपत्रमा रहेको विवरण र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली तथा केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको जैविक विवरण हुबहु मिलेमा प्रतिलिपि जारी गरिने प्रशासनले जनाएको छ।
तर, अभिलेख नभेटिएको, नाम–थर, जन्ममिति वा अन्य विवरण फरक परेको वा सच्याएर प्रतिलिपि लिन खोजिएको अवस्थामा भने सम्बन्धित नागरिकले साविकमा नागरिकता लिएको जिल्लामै सम्पर्क गर्नुपर्नेछ।
त्यस्तै, पहिलो दृष्टिमै नागरिकता शङ्कास्पद देखिएमा पनि उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि जारी नहुने प्रशासनले स्पष्ट पारेको छ। यस्तो अवस्थामा नागरिकता जारी भएको सम्बन्धित जिल्लाबाटै आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।




प्रतिकृया दिनुहोस्