बाजुरामा विषालु जंगली च्याउ खाँदा पतिको मृत्यु,पत्नीको अवस्था गम्भीर

बाजुरा : बाजुरामा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अर्की एक जना गम्भीर बिरामी भएकी छन्।बडिमालिका नगरपालिका–७ धम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको हो भने अर्की एक जना गम्भीर बिरामी भएकी हुन।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार दिउँसो करिब ४ बजे स्थानीय ५१ वर्षीय रामे थापा र उनकी करिब ५० वर्षीया पत्नी नाम्सरी थापाले जंगली विषालु च्याउ खाएका थिए। च्याउ खाएपछि दुवै जनाको स्वास्थ्य अवस्था बिग्रिएपछि राति करिब १०:२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्याइएको थियो।
अस्पतालमा चिकित्सकले परीक्षण गर्दा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका थिए। उनकी पत्नी नाम्सरी थापाको अवस्था भने गम्भीर रहेको र अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा घटनास्थल अनुसन्धान टोली खटिएको प्रहरीले जनाएको छ।
मृतकको शव जिल्ला अस्पताल मार्तडीमा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ





प्रतिकृया दिनुहोस्