October 16, 2026, Friday
२०८३ कार्तिक १

दसैँ-तिहार मनाउन भारतबाट फर्किनेको गड्डाचौकीमा स्वास्थ्य जाँच, ४७ सयमध्ये दुई जनामा टीबी पुष्टि

कञ्चनपुर । दसैँ–तिहार मनाउन भारतबाट घर फर्किने नेपालीको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण तीव्र पारिएको छ। चाडपर्वका बेला भारतबाट स्वदेश फर्किने यात्रुको संख्या बढेसँगै सीमा नाकामै विभिन्न सङ्क्रामक रोगको परीक्षण गर्न थालिएको हो।

गड्डाचौकीस्थित हेल्थ डेस्कमा भारतबाट फर्किने यात्रुको मलेरिया, क्षयरोग (टीबी), एचआईभी, कोभिड–१९, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

भारतबाट फर्किने नागरिकमा हुनसक्ने सङ्क्रामक रोग समयमै पहिचान गरी उपचार गर्ने र संक्रमण फैलिन नदिने उद्देश्यले सीमा नाकामै स्वास्थ्य परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिए।

‘सङ्क्रमण देखिए अस्पतालमा ल्याएर निःशुल्क उपचार गरिन्छ,’ भट्टले भने, ‘टाढाको मानिसका लागि सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरेर उपचारको व्यवस्था मिलाइन्छ।’

भारतमा मलेरिया, डेङ्गुलगायत सङ्क्रामक रोग बढी फैलिएका क्षेत्रबाट आएका यात्रु तथा ज्वरो आएका यात्रुलाई प्राथमिकतामा राखेर परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

असोजमा मात्रै गड्डाचौकी नाकामा ४ हजार ७ सय यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा दुई जनामा क्षयरोग (टीबी) पोजेटिभ देखिएको छ भने अन्यमा उल्लेखित रोगको संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार अहिले गड्डाचौकी नाका हुँदै दैनिक करिब २ हजार नेपाली स्वदेश फर्किरहेका छन्। रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली दसैँ–तिहार मनाउन घर फर्किन थालेपछि नाकामा यात्रुको चाप बढेको हो।

यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गड्डाचौकीसहित जिल्लाका विभिन्न स्थानमा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

‘गड्डाचौकी नाका भएर स्वदेश फर्किने नेपालीको चाप बढेकाले यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाएका छौँ,’ उनले भने, ‘चाडपर्वका बेला हुन सक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ।’