सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना निर्वाचित, को-को भए ?

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम भूगोलबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। भूगोल खुलातर्फ तीन, महिलातर्फ एक तथा ३५ वर्षमुनिको युवा महिला र खुला क्लस्टरतर्फ एक–एक जना निर्वाचित भएका हुन्।
सुदूरपश्चिम भूगोल खुलातर्फ बहादुरसिंह थापा, दिवानसिंह विष्ट र जनक चटौत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार डडेल्धुराका चटौतले सर्वाधिक २ हजार ५०८ मत प्राप्त गरेका छन्। कञ्चनपुरका थापा र विष्टले समान १ हजार ७९९ मत पाएका छन्।
खुलातर्फ तीन पदका लागि १३ जनाको उम्मेदवारी परेको थियो। निर्वाचितबाहेक विजयबहादुर स्वारले १ हजार ५९४, पुस्करराज ओझाले १ हजार ५८५, नन्दकृष्ण जोशीले १ हजार ५८३ र पदमबहादुर शाहीले १ हजार ४९२ मत प्राप्त गरेका छन्।
त्यस्तै, दीपकबहादुर सिंहले १ हजार ३११, हरिप्रसाद बोहराले १ हजार १९२, टीकाराम खनालले १ हजार १३४, लेखराज जोशीले ९७१, रामबहादुर राकायाले ९६० र सिभी मल्लले ७१५ मत पाएका छन्।
निर्वाचितमध्ये बहादुरसिंह थापा सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री हुन् भने दिवानसिंह विष्ट प्रदेशसभा सदस्य हुन्। थापा र विष्ट कञ्चनपुरका तथा चटौत डडेल्धुराका हुन्।
महिलातर्फ अम्बिका चलाउने निर्वाचित
सुदूरपश्चिम भूगोल महिलातर्फ अम्बिकाकुमारी चलाउने केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। उनले ३ हजार ७५५ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धी सुशीला शाहीलाई पराजित गरेकी हुन्। शाहीले १ हजार ६४२ मत पाइन्।
महिलातर्फ चार जनाबीच प्रतिस्पर्धा भएको थियो। खिना भण्डारीले ७७५ र टीकेश्वरीकुमारी हमालले ४९० मत प्राप्त गरे।
चलाउने अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर हुन्। उनकी प्रतिस्पर्धी शाही कैलालीको लम्की–चुहा नगरपालिकाकी मेयर हुन्।
युवा महिला र खुलातर्फ
यसैगरी, ३५ वर्षमुनिको युवा महिला क्लस्टरतर्फ सुदूरपश्चिमबाट रीता शाही केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। बाजुराकी शाहीले विद्यार्थी नेतृ भूपेश्वरी ऐरलाई पराजित गर्दै विजय हासिल गरेकी हुन्।
३५ वर्षमुनिको युवा खुला क्लस्टरतर्फ भुवनराज भट्ट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
यससँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिम भूगोलबाट खुला, महिला तथा युवा क्लस्टर गरी ६ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।



प्रतिकृया दिनुहोस्