कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित, जनसम्पर्क समितिबाट ७ केन्द्रीय सदस्य

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।
खतिवडाले २ हजार ९१९ र शिवाकोटीले २ हजार १७२ मत पाएका छन्। सानेपामा जारी मतगणना सकिएसँगै खतिवडा र शिवाकोटी निर्वाचित भएका हुन्। यद्यपि निर्वाचन समितिले उनीहरूको निर्वाचित परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ।
उक्त पदमा डिल्लीराम सुवेदी, देवेन्द्रराज कँडेल, राजीव ढुंगाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री प्रतिस्पर्धामा थिए ।
यसअघि पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भइसकेका छन्। शाहीले ३ हजार ९ सय ६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३ सय ७० मत पाए। शाही २ हजार ५ सय ३६ मतको फराकिलो अन्तरले विजयी भएका हुन्।
पिछडिएको क्षेत्रतर्फ शाहीसँगै जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट प्रतिस्पर्धामा थिए। शाही कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेतासमेत हुन्। कांग्रेसको १४औँ महाधिवेशनमा पनि यही पदमा उम्मेदवारी दिएका शाही बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए।
कांग्रेसको १५औँ महाधिवेशनबाट विधानअनुसार ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ।

यसैबीच, नेपाली कांग्रेसका जनसम्पर्क समितितर्फ ७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फका दुई महिला केन्द्रीय सदस्यमा सीता सापकोटा घिमिरे र चन्द्रा अधिकारी निर्वाचित भएका छन्। घिमिरेले ३ हजार १ सय १३ र अधिकारीले २ हजार ८ सय ९६ मत प्राप्त गरेका छन्। यो क्लस्टरमा ५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
जनसम्पर्क समिति अन्तर्गत युरोप क्षेत्रको केन्द्रीय सदस्यमा जितेन्द्रविक्रम शाही निर्वाचित भएका छन्। उनले १ हजार ४ सय १२ मत प्राप्त गरे। यस क्लस्टरमा ८ जना उम्मेदवार थिए।
ओसियाना–अमेरिका क्षेत्रको केन्द्रीय सदस्यमा सिए। विद्या भूषण कार्की निर्वाचित भएका छन्। कार्कीले १ हजार ९ सय ५१ मत प्राप्त गरे। यस क्लस्टरमा ४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
त्यस्तै, मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनले २ हजार ९४ मत प्राप्त गरे। यस क्लस्टरमा ४ जना उम्मेदवार थिए।
प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनले १ हजार ९ सय २० मत प्राप्त गरे। यस क्षेत्रमा ७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
भारतबाट बालकृष्ण पाण्डे केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनले ३ हजार ८ सय २७ मत प्राप्त गरे। भारत क्षेत्रबाट दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले मतगणना सकिए पनि मत यकिन गर्ने काम भइरहेको बताएका छन्। उनका अनुसार मतगणनालाई तीव्रता दिइएको छ र बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।



प्रतिकृया दिनुहोस्