बजेट पारित गर्न कांग्रेसलाई मनाउने सरकारको प्रयास, प्रदेशसभा बैठक ५ बजेसम्म सर्यो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पारित गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई समेत सहमतिमा ल्याउने प्रयास थालेको छ। कांग्रेसले बजेटमाथिको छलफल बहिष्कार गर्ने निर्णय गरेपछि सरकारले प्रतिपक्षीलाई मनाएर प्रदेशसभाबाट बजेट पारित गराउने प्रयास गरेको हो।
मंगलबार बिहान ९ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। तर १ बजेका लागि निर्धारित बैठक पनि सुरु हुन नसकेपछि प्रदेशसभा सचिवालयले बैठक साँझ ५ बजेसम्मका लागि सारेको छ।
प्रदेशसभा सचिवालयले १ बजेको बैठक ‘कारणवश’ स्थगित भएको सूचना सांसदहरूलाई पठाउँदै साँझ ५ बजेका लागि बैठक बोलाएको जनाएको छ।
यता, कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले विवादित बजेटमाथिको छलफलमा सहभागी नहुने बताएका छन्। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै कांग्रेसले बजेट छलफल बहिष्कार गर्ने निर्णय गरेको हो।
“कांग्रेसलाई पनि सहमतिमा ल्याएर बजेट पारित गर्ने सरकारको तयारी छ,” नेकपाका एक सांसदले भने।
बजेटलाई लिएर सत्तारूढ दलभित्रै तीव्र असन्तुष्टि देखिएपछि मंगलबार बिहान नेकपाको संसदीय दलको बैठक बसेको थियो। बैठकमा बजेटका विवादित विषयमा दलभित्र साझा धारणा बनाउने प्रयास गरिएको थियो। तर कांग्रेसले बजेटमाथिको छलफल नै बहिष्कार गर्ने निर्णय गरेपछि सरकारमाथि बजेट पारित गराउने थप दबाब परेको छ।
यसअघि सत्तारूढ नेकपाले बजेटका विवादित विषय छानबिन गर्न संसदीय समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको थियो। विवादित विषयलाई संसदीय छानबिनमार्फत टुंग्याउने र तत्कालका लागि चालु आर्थिक वर्षको बजेट पारित गर्ने सत्तारूढ दलको तयारी छ।
सरकारले मंगलबार अपराह्न ४ बजे सर्वदलीय बैठक बोलाएर सहमति जुटाउने र त्यसपछि साँझ ५ बजे प्रदेशसभा बैठक सञ्चालन गरी बजेट पारित गर्ने तयारी गरेको छ।



प्रतिकृया दिनुहोस्