October 13, 2026, Tuesday
२०८३ आश्विन २७

आईसीसी क्रिकेट विश्वकप लिग २ : ओमानमाथि नेपालको शानदार जित, लगातार दोस्रो विजय

काठमाडौं । बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी शृङ्खलामा लगातार दोस्रो जित हात पारेको छ।

मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको हो। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो।

ओमानका लागि कप्तान विनायक शुक्लाले ७७ रन बनाए। तर, ओमान १२औँ ओभरमै ४१ रनमा ६ विकेट गुमाएर संकटमा परिसकेको थियो। त्यसपछि शुक्लाले जय ओडेरासँग ८३ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरेका थिए। ओडेरा २५ रनमा आउट भए।

नेपालका लागि नन्दन यादवले ६ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले ९ ओभरमा २८ रन दिएर ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे।

अन्त्यतिर करण केसीले १६ बलमा ४० रनको आक्रामक पारी खेल्दै नेपालको स्कोर उकासेका थिए। उनले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा शाह फेसललाई पनि छक्का प्रहार गरे।

अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए। ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले २–२ तथा हस्नेन शाहले १ विकेट लिए।

जितसँगै लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ। ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ।

नेपालले अब शृङ्खलाको अर्को खेलमा शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।