नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य, करण केसीको आक्रामक ब्याटिङ

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ।
ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको हो।
नेपालका लागि रोहित पौडेलले ६७ बलमा ६१ रन बनाए। त्यस्तै अर्जुन कुमालले ५९ बलमा ४०, इशान पाण्डेले ५६ बलमा ३७ तथा बसिर अहमदले ५० बलमा ३७ रन बनाए।
करण केसीले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन बनाए। दीपेन्द्रसिंह ऐरीले १७ बलमा २२ तथा सन्दीप जोराले १२ बलमा १० रन जोडे। नन्दन यादव ९ बलमा ७ रन बनाएर अविजित रहे।
यसअघि ओपनर आशिफ शेख १५ बलमा ४ रन बनाएर आउट भएका थिए।
ओमानका लागि शाह फैसल, सकिल अहमद र करण सोनावले समान २–२ विकेट लिए। फैसलले १० ओभरमा ४४, सकिलले १० ओभरमा ५० र करणले ९ ओभरमा ३८ रन खर्चिए। हसनैन शाहले १० ओभरमा ७५ रन खर्चिएर एक विकेट लिए।
नेपाल र ओमान जारी शृङ्खलामा दोस्रो जितको खोजीमा छन्। असोज २६ गते भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो। त्यसअघि ओमानले क्यानडालाई ४१ रनले हराएको थियो।
ओमानको जितपछि नेपालका लागि विश्वकप छनोटको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको छ। अब नेपालको मुख्य लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु रहेको छ।
लिग–२ मा ३३ खेल खेलेको नेपाल २६ अंकसहित छैटौँ स्थानमा छ। २९ खेलबाट ३३ अंक जोडेको ओमान चौथो तथा ३४ खेलबाट २५ अंकसहित क्यानडा सातौँ स्थानमा छन्।



प्रतिकृया दिनुहोस्