October 15, 2026, Thursday
२०८३ आश्विन २९

न्यायाधीश बम हत्याका दोषी बाबु थापा पक्राउ, साथबाट दुई पेस्तोल र १५ राउन्ड गोली बरामद

काठमाडौँ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थापा सर्लाहीस्थित आफ्नै घरबाट पक्राउ परेका हुन्।

सर्लाहीको बागमती नगरपालिका–१ स्थित घरमा पुगेका थापालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। पक्राउ गर्दा उनको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको सर्लाही प्रहरीले जनाएको छ।

सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार थापा घरमा आएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

थापा २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए। कारागारबाट भागेपछि उनी नेपाल तथा भारतका विभिन्न स्थानमा लुकेर बसेको प्रहरीको भनाइ छ। भेष बदलेर बस्ने र आवश्यक पर्दा अरूको मोबाइल प्रयोग गरी सम्पर्क गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो।

प्रहरीका अनुसार बरामद हतियारका सम्बन्धमा थापाविरुद्ध हातहतियार तथा खरखजाना कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ।

यसअघि पनि दुई वर्ष सात महिनापछि पक्राउ परेका थिए

न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएका थापा यसअघि पनि लामो खोजीपछि पक्राउ परेका थिए। प्रहरीले करिब दुई वर्ष सात महिना खोजी तथा निगरानी गरेपछि २०७१ सालमा उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।

त्यतिबेला उनको पक्राउलाई प्रहरीको महत्वपूर्ण सफलताका रूपमा लिइएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई सार्वजनिक गर्दा तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसमेत पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। अर्यालले थापाको पक्राउलाई प्रहरीको ‘घाँटीमा अड्किएको काँडा निकालिएसरह’ भएको बताएका थिए।

थापा तत्कालीन चुरेभावर राष्ट्रिय पार्टीका उपाध्यक्ष थिए। पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेशसँग जोडिएको घटनाक्रमलाई प्रहरीले न्यायाधीश बम हत्याको पृष्ठभूमिका रूपमा अनुसन्धान गरेको थियो।

अदालतको अन्तरिम आदेशपछि हत्या

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो। बंगलामुखी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा उनको गाडी रोकेर गोली प्रहार गरिएको थियो।

प्रहरी अनुसन्धानअनुसार चुरेभावर राष्ट्रिय पार्टीको नेतृत्व विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत पुगेको थियो। निर्वाचन आयोगले केशव मैनालीको सट्टा बाबु थापा नेतृत्वको समूहलाई वैधानिकता दिएपछि मैनाली त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका थिए।

त्यसपछि न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। अनुसन्धानमा उक्त आदेशले आफ्नो राजनीतिक भविष्यमा असर पर्ने ठानेर थापाले हत्याको योजना बनाएको निष्कर्ष निकालिएको थियो।

अदालतले थापालाई न्यायाधीश बम हत्यामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि उनी पुनः प्रहरीको खोजीमा थिए। करिब एक वर्षपछि प्रहरीले उनलाई सर्लाहीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो।