April 18, 2026, Saturday
२०८३ बैशाख ५

कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक बन्द

 

डोटी, भदौ ६ (ई-रैवार)

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दिपायलका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दिपायलका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका हुन ।

निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोबार नगर्ने जनाएका छन् । क्यासियर पदमा कार्यरत महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा संक्रमण नफैलियोस् भन्दै पाँच दिनका लागि बैंकिङ कारोबार पूर्णरूपमा बन्द गरिएको वाणिज्य बैंकका शाखा प्रमुख गणेशबहादुर विष्टले बताए ।

डोटीमा अहिलेसम्म ८ सय जना बढीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालको पीसीआर ल्याबमा गरिएको कोरोना परीक्षणमा ती महिला कर्मचारीसहित अन्य १८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।

प्रमुख मलासीका अनुसार पीसीआर परीक्षणमा जिल्ला प्रहरी कार्यालयका २ पुरुष र १ महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।