November 3, 2026, Tuesday
२०८३ कार्तिक १८

कांग्रेस आधिकारिकता विवाद : देउवा समूहले माग्यो निष्पक्ष छानबिन

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीको आधिकारिकतासँग जोडिएका पछिल्ला घटनाक्रमबारे निष्पक्ष र गम्भीर छानबिन गर्न माग गरेको छ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको पार्टीको आधिकारिकतासँग सम्बन्धित विषयमा सञ्चारमाध्यममार्फत नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेकाले त्यसको गहिराइमा पुगेर छानबिन गर्नुपर्ने माग गरेको हो।

पत्रकार सम्मेलनमा कांग्रेस नेता डा. प्रकाशशरण महतले पछिल्लो समय सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विवरण गम्भीर रहेको भन्दै सबै तथ्य र प्रमाणका आधारमा निष्पक्ष छानबिन हुनुपर्ने बताए।

‘अहिले मिडियामार्फत नयाँ–नयाँ तथ्यहरू सार्वजनिक भइरहेका छन्। प्रहरीले जानकारी लिने र सोधपुछ गर्ने क्रममा कसले के भन्यो भन्ने विवरणहरू पनि बाहिर आइरहेका छन्। यी विषय निकै गम्भीर छन्,’ महतले भने, ‘त्यसैले यसको गहिराइसम्म पुगेर निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ। सबै तथ्य र प्रमाणका आधारमा मात्रै निर्णय गरिनुपर्छ।’

महतले कांग्रेसको आधिकारिकतासँग जोडिएको विषयमा निर्वाचन आयोग र अदालतमा समेत ‘चलखेल’ भएको भनिएका विषयको छानबिन संवैधानिक निकायबाट हुनुपर्ने बताए। सरकारले गर्ने छानबिनप्रति आफूहरू विश्वस्त हुन नसकेको उनको भनाइ थियो।

‘यो त सरकारले पनि ठीक ढंगले छानबिन गर्छ कि गर्दैन थाहा छैन। त्यसकारण संवैधानिक निकायहरूले नै यसमा हस्तक्षेप गर्नुपर्छ,’ उनले भने, ‘अधिकारको दुरुपयोग जहाँबाट भएको छ, त्यसको गहिराइमा जानुपर्छ। गहिराइसम्म पुगेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ।’

महतले गत पुसमा सम्पन्न विशेष महाधिवेशनलाई आधिकारिकता दिने विषयमा निर्वाचन आयोगकै एक आयुक्तले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेको विषय पनि स्मरण गरे।

‘निर्वाचन आयोगकै एक जना सदस्यले समेत विधि र नियम नमिलेको भन्दै नोट अफ डिसेन्ट राख्नुभएको थियो,’ उनले भने।

उनले विशेष महाधिवेशन र त्यसलाई दिइएको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको तत्कालीन निर्णयप्रति पनि प्रश्न उठाए। विशेष महाधिवेशन विधि र प्रक्रिया मिचेर गरिएको दाबी गर्दै उनले आयोगले पर्याप्त प्रमाण र आधार नहेरी तथा आफ्नो पक्षको कुरा नसुनी हतारमा निर्णय गरेको आरोप लगाए।

‘हामीले सुरुदेखि नै भन्दै आएका छौं कि तत्कालीन विशेष अधिवेशन विधि–प्रक्रिया मिचेर गरिएको थियो। त्यसबेला अधिवेशनमा यति ठूलो संख्यामा प्रतिनिधि उपस्थित थिए भनियो,’ महतले भने, ‘तर त्यसको प्रमाण र आधार नहेरी, हाम्रो पक्षको कुरा समेत नसुनी निर्वाचन आयोगले जुन हतारमा निर्णय गर्‍यो, त्यो गलत थियो।’

देउवा समूहले पछिल्लो समय सार्वजनिक भइरहेका विवरण र दाबीलाई आधार बनाएर पार्टीको आधिकारिकता निर्धारणसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएको छ।