देउवा समूहको डडेल्धुरामा अधिवेशन, जोशी सभापति बन्ने सम्भावना

डडेल्धुरा । नेपाली कांग्रेसमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवा समूहले उनकै गृहजिल्ला डडेल्धुरामा १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय तथा आठौँ जिल्ला अधिवेशन गरिरहेको छ।
देउवा समूहले शनिबार क्षेत्रीय तथा जिल्ला अधिवेशन गर्न लागेको हो। अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व चयनसँगै १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन गरिनेछ।
कांग्रेस डडेल्धुराका तत्कालीन सभापति भीमबहादुर साउद विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले आयोजना गरेको अधिवेशनमा खुलेपछि देउवा समूहले जिल्ला उपसभापति डिल्लीराज जोशीलाई अधिवेशनको संयोजक बनाएको थियो।
स्रोतका अनुसार अधिवेशनबाट जोशी जिल्ला सभापति चयन हुने सम्भावना छ। अधिवेशनअघि देउवा समूहले डडेल्धुरा बसपार्कदेखि अधिवेशनस्थल निर्माण व्यवसायी संघको सभाहलसम्म बाजागाजासहित र्यालीसमेत निकालेको थियो।
देउवा समूहले यसअघि संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी, रोल्पा र दैलेखमा नयाँ नेतृत्व चयन गरिसकेको छ।
यस समूहले गत १५ असोजबाट वडा अधिवेशन सुरु गरेको थियो। समूहले १५ कात्तिकमा जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।





प्रतिकृया दिनुहोस्