October 31, 2026, Saturday
२०८३ कार्तिक १५

अस्पताल उद्घाटनको विवादमा झडप, प्रहरीको गोली लागेर बालक घाइते

बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालक घाइते भएका छन्।

शनिबार बिहान करिब १०ः३० बजे अस्पताल उद्घाटन गर्ने विषयमा स्थानीय दुई समूहबीच विवाद सुरु भएको थियो। विवाद बढ्दै गएर झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए।

गोली लागेर स्थानीय १४–१५ वर्षीय आदित्य पासवान घाइते भएका छन्। उनलाई उपचारका लागि पर्साको वीरगन्जस्थित नेसनल मेडिकल कलेज लगिएको थियो। उनको शल्यक्रिया गरी गोली निकालिएको र स्वास्थ्य अवस्था स्थिर रहेको भट्टराईले बताए।

उनका अनुसार गाउँपालिका अध्यक्ष पक्ष अस्पताल उद्घाटन गर्ने तयारीमा रहेको थियो भने पूर्वपालिका प्रमुखलगायतको समूह उद्घाटन रोक्ने पक्षमा थियो। “१५ बेडको अस्पताल उद्घाटन गर्ने सन्दर्भ हो। अहिलेको गाउँपालिका प्रमुख उद्घाटन गर्ने पक्ष र पूर्वपालिका प्रमुखलगायतको समूहचाहिँ उद्घाटन हुन नदिने पक्षमा,” उनले भने, “दुईटै पक्षमा झडप भयो।”

भट्टराईका अनुसार प्रहरीले एक राउन्ड गोली चलाएको थियो। घाइते बालकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनले बताए।

झडपका क्रममा केही प्रहरीसमेत घाइते भएका छन्। चार–पाँच जना प्रहरीलाई थप उपचारका लागि काठमाडौं पठाउनुपर्ने अवस्था रहेको भट्टराईले बताए। स्थानीयतर्फ भने सामान्य चोटपटकबाहेक ठूलो क्षति नभएको उनले जानकारी दिए।

घटनापछि १० वटा मोटरसाइकलमा आगजनी भएको सूचना आएको छ। आगजनीमा सुरक्षाकर्मीका मोटरसाइकलसँगै स्थानीय कर्मचारीका निजी तथा केही सरकारी मोटरसाइकलसमेत परेको बताइएको छ।

घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ। अवस्था सामान्यतर्फ उन्मुख रहेकाले तत्काल कर्फ्यु लगाउने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।