October 31, 2026, Saturday
२०८३ कार्तिक १५

भारी हिमपातपछि बडीमालिकामा दुई पर्यटक सम्पर्कविहीन

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका पुगेका कञ्चनपुरका दुई जना पर्यटक भारी हिमपातपछि सम्पर्कविहीन भएका छन्। बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका उनीहरू फर्कने क्रममा सम्पर्कविहीन भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन्।

उनका अनुसार कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका गएको थियो। टोलीका तीन जना बडीमालिका पुगेर फर्किसकेका छन् भने मनिष र सागर भने सम्पर्कविहीन भएका हुन्।

चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका भगवती मन्दिरमा दर्शन गरेर फर्कने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन भएका थिए। त्यसपछि गए रातिदेखि सागर कार्कीसँग पनि सम्पर्क हुन नसकेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।

“हिजो सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुहुन्थ्यो,” शाहीले भने, “उहाँहरू सो क्षेत्रमा भारी हिमपातका कारण अलपत्र पर्नुभएको हुनसक्छ।”

प्रहरीका अनुसार हिमपातपछि मनिष बाटोमै हराएका र भारी हिउँका कारण तल झर्न नसक्दा सागर पनि अलपत्र परेको हुनसक्ने अनुमान गरिएको छ। दुवै जनाको मोबाइल बन्द भएको संकेत आइरहेकाले खोजी तथा उद्धारका लागि प्रहरी टोली त्यसतर्फ पठाउने तयारी भइरहेको शाहीले बताए।

जिल्लामा शुक्रबारदेखि भइरहेको वर्षाका कारण बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। प्रतिकूल मौसम र बाक्लो हिउँका कारण उद्धारमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। मार्तडीबाट प्रहरी टोली खटाएर बेपत्ता दुई जनाको खोजी गर्ने तयारी भइरहेको शाहीले जानकारी दिए।