देउवा समूहको कांग्रेस महाधिवेशन तीन स्थानमा, खुलामञ्चमा मुख्य कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनका लागि काठमाडौंका तीन स्थान बुक गरेको छ। महाधिवेशनको उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यका लागि मतदान खुलामञ्चमा, पदाधिकारी चयनका लागि मतदान राष्ट्रिय सभा गृहमा र महाधिवेशन प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिने भएको छ।
देउवा समूहले आगामी २१ देखि २३ मंसिरसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। सोहीअनुसार महाधिवेशनको मुख्य कार्यक्रम सञ्चालन हुने खुलामञ्च बुक गरिसकिएको समूहले जनाएको छ।
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए। उनका अनुसार महाधिवेशनको अधिकांश मुख्य गतिविधि खुलामञ्चमै सञ्चालन गर्ने तयारी गरिएको छ।
निर्वाचन समितिका अनुसार महाधिवेशनको उद्घाटन समारोह, बन्दसत्र तथा केन्द्रीय सदस्यका लागि मतदान खुलामञ्चमा हुनेछ। महाधिवेशनमा ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने भएकाले खुला र पर्याप्त स्थान आवश्यक पर्ने भन्दै मुख्य कार्यक्रमका लागि खुलामञ्च रोजिएको हो।
त्यस्तै, पार्टीका पदाधिकारी चयनका लागि हुने मतदान भने राष्ट्रिय सभा गृहमा गरिनेछ। निर्वाचन प्रक्रिया व्यवस्थित र सहज बनाउन फरक–फरक प्रयोजनका लागि दुई स्थानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्थापन गर्न भृकुटीमण्डप बुक गरिएको सदस्यसचिव कार्कीले जानकारी दिए। यससँगै महाधिवेशनका मुख्य कार्यक्रम, मतदान र प्रतिनिधिका लागि भोजन व्यवस्थापन अलग–अलग स्थानबाट सञ्चालन हुने भएको छ।
देउवा समूहले महाधिवेशनको तयारीस्वरूप असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको छ। समूहले कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका पनि तय गरेको छ। वडा र जिल्ला तहका अधिवेशन सम्पन्न गर्दै महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाउने तयारी देउवा समूहको छ।
यसअघि कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र फरक–फरक समूहले आ–आफ्नो तयारी अघि बढाउँदै आएका छन्। देउवा समूहले भने निर्धारित कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन सम्पन्न गर्दै महाधिवेशनको तयारीलाई तीव्रता दिएको जनाएको छ।





प्रतिकृया दिनुहोस्