October 30, 2026, Friday
२०८३ कार्तिक १४

निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्‍यो एन-प्याब्सनलाई निलम्बन

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम गृह मन्त्रालयले दिएको निर्देशन पटक–पटक पालना नगरेको भन्दै एनप्याब्सनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका अनुसार एनप्याब्सनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका कार्यसमेत गरेको पाइएको छ।

यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालालाई छलफलमा बोलाएर राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ साल पुस १२ गते जारी गरेको निर्देशनबमोजिम कार्य गर्न आग्रह गरेको थियो। तर, त्यसअनुसार कार्य भएको नदेखिएपछि निलम्बनको निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिएको निर्देशन पालना नगरेको जनाउँदै ऐनको दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई निलम्बन गरेको हो।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय निर्देशन ऐन तथा मन्त्रालयबाट जारी निर्देशनबमोजिम कार्य गर्न आग्रह गरिए पनि सोअनुसार कार्य नभएकाले ऐनको दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको उल्लेख छ।

मन्त्रालयले निलम्बनसम्बन्धी निर्णय सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरेको जनाएको छ।