सोमपालको अलराउन्ड प्रदर्शनमा कर्णालीको लगातार दोस्रो जित

काठमाडौं । कप्तान सोमपाल कामीको आक्रामक अर्धशतक र उत्कृष्ट बलिङको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ।
विराटनगरले दिएको १ सय ८७ रनको लक्ष्य कर्णालीले अन्तिम दुई बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको हो। योसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। विराटनगरको भने यो लगातार दोस्रो हार हो।
कर्णालीको जितमा कप्तान सोमपाल र गुल्शन झाले सातौँ विकेटका लागि अविजित ६४ रनको निर्णायक साझेदारी गरे। दबाबपूर्ण अवस्थामा क्रिजमा आएका सोमपालले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए। उनले ३२ बलमा ४ चौका र ३ छक्कासहित अविजित ६२ रन बनाए। गुल्शनले २१ बलमा २ चौका र २ छक्कासहित अविजित २८ रन जोडे।
त्यसअघि पवन सर्राफले २८ बलमा ३ छक्का र १ चौकासहित ३६ रन बनाए। उनले सोमपालसँग छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए। पवन प्रतिश जिसीको बलमा क्याच आउट भए।
सोमपाल एनपीएलमा अर्धशतक बनाउने पाँचौँ खेलाडी बनेका छन्। यसअघि डेविड मलान, दीपेन्द्रसिंह ऐरी, मोइन अली र लोकेश बमले अर्धशतक बनाइसकेका थिए। कर्णालीका अरिफुल इस्लामले १२ बलमा ३ चौका र ३ छक्कासहित ३२ तथा दीपक डुम्रेले २० रन बनाए।
बलिङतर्फ विराटनगरका एंगेलो म्याथ्युजले ३ विकेट लिए। चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले समान १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो। उसका ओपनर लोकेश बमले ५२ बलमा ९ छक्का र ३ चौकासहित सर्वाधिक ८७ रन बनाए। उनले एंगेलो म्याथ्युजसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए।
लोकेशले व्यक्तिगत १ रनमा सोमपालको बलमा जीवनदान पाएका थिए। नन्दन यादवले उनको क्याच छाडेका थिए। त्यसपछि ४८ रनमा सोमपालकै एलबीडब्लु अपिलमा डीआरएसको सहायताले जोगिएका लोकेशलाई १६औँ ओभरको पाँचौँ बलमा सोमपालले नै कट एन्ड बोल्ड गरे।
एंगेलोले २३ बलमा ४ चौकासहित ३१ तथा आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्कासहित २७ रन बनाए। बसिर अहमदले १३, शेहान जयसूर्याले ११, इमरान शेखले ५ र चरिथ असलंकाले ३ रन जोडे। साजन थपलिया खाता नखोली अविजित रहे।
कर्णालीका कप्तान सोमपालले बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए। मार्क वाटले १ विकेट लिए।
यसअघि बिहीबार भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।



प्रतिकृया दिनुहोस्