October 29, 2026, Thursday
२०८३ कार्तिक १३

जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो।

काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरको जितमा ओपनर मोइन अलीले अर्धशतकीय इनिङ्स खेले।

मोइन ५१ बलमा ५८ रन बनाएर अविजित रहे। उनले ३ चौका र ३ छक्का प्रहार गरे। मोइनले सैफ हसनसँग तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई जित दिलाए। हसन ३९ बलमा ४० रन बनाएर नटआउट रहे।

जनकपुरले ७ रनमै ओपनर तृतराज दासलाई गुमाएको थियो। तृत ५ रनमा आउट भए। त्यसपछि ३७ रन हुँदा मयन यादव ९ रनमा आउट भए। त्यसपछि मोइन र हसनले इनिङ्स सम्हाल्दै जनकपुरलाई सहज जित दिलाए। काठमाडौंका रिपोन मोन्डलले एक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९ ओभर ३ बलमा १ सय १५ रनमा अलआउट भएको थियो। काठमाडौंलाई सस्तोमै समेट्ने क्रममा जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए।

राहुलले काठमाडौंका दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी र मोहम्मद आदिल आलमको विकेट लिए। सैफ हसनले २ तथा मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले समान एक विकेट लिए।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। काठमाडौंले इनिङ्सभर ठूलो साझेदारी बनाउन सकेन। साम हिजलेट १, हरिशंकर शाह ९, रसिद खान १७, स्मित पटेल १३, सुमित महर्जन १०, करण केसी ८, जहानदाद खान ५, रिपोन मोन्डल ९ रनमा आउट भए। मोहम्मद आदिल आलम पहिलो बलमै एलबीडब्ल्यू आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे।

पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो खाता खोलेको हो।

एनपीएलअन्तर्गत आजै साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।