कांग्रेसको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी, शपथसँगै ८ बुँदे प्रतिज्ञा : के-के छ प्रतिज्ञापत्रमा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहीबार आयोजित समारोहमा सभापति थापाले नवनिर्वाचित नेताहरूलाई शपथ गराएका हुन्।
शपथसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले बिहीबारदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिएको हो। नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै पदबहालीसमेत गराउने व्यवस्था गरिएको उनले बताए।
शपथ ग्रहणका क्रममा सभापति थापाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई आठबुँदे प्रतिज्ञासमेत गराएका छन्। प्रतिज्ञामा संविधानप्रति पूर्ण प्रतिबद्ध रहनेदेखि पार्टीको विधान, अनुशासन, नीति र निर्णय पालना गर्दै पार्टी, समाज र राष्ट्रको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता समेटिएको छ।
प्रतिज्ञामा नवनिर्वाचित नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति पूर्ण प्रतिबद्ध रहँदै नागरिक कर्तव्य इमानदारीपूर्वक पालना गर्ने उल्लेख छ। त्यस्तै, कांग्रेसको विधान, सिद्धान्त र ‘समृद्ध नेपाल र सम्मानित नेपाली’को लक्ष्यप्रति समर्पित रही पदीय जिम्मेवारी सक्रिय र कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

उनीहरूले पार्टीको नीति तथा निर्देशनअनुसार कार्यक्रम, अभियान र गतिविधिमा सक्रियतापूर्वक सहभागी हुने तथा पार्टी अनुशासन पालना गर्दै संगठनात्मक निर्णयको सम्मान र कार्यान्वयन गर्ने प्रतिज्ञा गरेका छन्।
त्यसैगरी, संविधान र प्रचलित कानुनले निषेध गरेका कार्यमा संलग्न नहुने, त्यस्ता गतिविधि रोक्न आफ्नो क्षमताअनुसार प्रयास गर्ने तथा पार्टी र समाजलाई जोड्दै सामाजिक कार्यमा सक्रिय रहने प्रतिबद्धता पनि प्रतिज्ञामा समेटिएको छ।
पार्टी विधानविपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुने र त्यस्ता गतिविधिविरुद्ध उभिने, सत्यनिष्ठा, जिम्मेवारी तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहने र पार्टी, समाज तथा राष्ट्रको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धतासहित आठबुँदे प्रतिज्ञा पूरा गरिएको हो।
नयाँ कार्यसमितिले जिम्मेवारी सम्हालेसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व औपचारिक रूपमा पार्टी सञ्चालनमा प्रवेश गरेको छ।
हेर्नुस् प्रतिज्ञाका ८ बुँदा-
- म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति पूर्ण प्रतिबद्ध रहँदै, देश र जनताको हित चिताई संविधानले तोकेको नागरिक कर्तव्यहरू इमानदारीपूर्वक पालन गर्नेछु।
- म नेपाली कांग्रेसको विधान, सिद्धान्त र लक्ष्य समृद्ध नेपाल र सम्मानित नेपालीप्रति समर्पित रही पार्टीको लक्ष्य र उद्देश्य पूरा गर्न सक्रिय र कुशलतापूर्वक आफ्नो पदीय जिम्मेवारी पूरा गर्नेछु ।
- म पार्टीको नीति निर्देशन बमोजिम पार्टीका कार्यक्रम, अभियान तथा गतिविधिहरूमा सक्रियतापूर्वक सहभागी हुनेछु ।
- म पार्टीको अनुशासन पालना गर्नेछु र सङ्गठनात्मक निर्णयलाई सम्मान र कार्यान्वयन गर्नेछु ।
- म नेपालको संविधान तथा प्रचलित कानुनले निषेध गरेका कुनै पनि कार्यमा संलग्न हुने छैन र आफ्नो क्षमता अनुसार यस्ता कार्यहरू रोक्न प्रयास गर्नेछु। पार्टी र समाजलाई जोड्दै सामाजिक कार्यमा सक्रिय रहनेछु ।
- म पार्टीको विधान विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न हुने छैन र त्यस्ता कार्यहरू विरुद्ध उभिनेछु।
- म सदैव सत्य निष्ठा, जिम्मेवारी र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहनेछु।
- म पार्टी, समाज र राष्ट्रको हितमा इमानदारीपूर्वक काम गर्नेछु।



प्रतिकृया दिनुहोस्