लामो प्रतीक्षापछि सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ अध्यायको संकेत, गेटामा ९० सिटदेखि ६२२ शय्यासम्म

धनगढी । दशकौँदेखि मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै विश्वविद्यालयको बहसमा रहेको कैलालीको गेटाले अब सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको तस्वीर बदल्ने आधार तयार गर्न थालेको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चार शैक्षिक कार्यक्रमका लागि ९० सिट स्वीकृत हुनु, शिक्षण अस्पतालको क्षमता विस्तार हुनु र विशेषज्ञ सेवा थप्ने तयारी अघि बढ्नुले प्रदेशमै चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवाको नयाँ अध्याय सुरु हुने संकेत गरेको छ।
नयाँ पदाधिकारी नियुक्तिपछिको १०० दिनमा विश्वविद्यालयले चिकित्सा शिक्षा, अस्पताल सेवा, जनशक्ति व्यवस्थापन, संस्थागत संरचना र पूर्वाधार विकासमा उल्लेख्य काम अघि बढाएको जनाएको छ। उपकुलपति डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीमबहादुर चन्द नियुक्त भएको एक सय दिन पुगेको अवसरमा बुधबार सार्वजनिक गरिएको प्रगति विवरणमा विश्वविद्यालयले हासिल गरेका उपलब्धि र आगामी योजनालाई समेटिएको छ।
सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा चिकित्सा शिक्षा आयोगबाट एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याबोरेटरी टेक्नोलोजीमा १० र ब्याचलर अफ अप्टोमेट्रीमा १० गरी कुल ९० सिट स्वीकृत भएको छ। यससँगै सुदूरपश्चिममै एमबीबीएससहित चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्ने औपचारिक आधार बनेको छ।
यो उपलब्धि केवल एउटा विश्वविद्यालयमा पढाइ सुरु हुने विषयमा सीमित छैन। लामो समयदेखि चिकित्सा शिक्षा अध्ययनका लागि प्रदेशबाहिर जानुपर्ने बाध्यता भोगिरहेका विद्यार्थीलाई आफ्नै प्रदेशमा अवसर सिर्जना गर्ने, स्थानीयस्तरमै चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादन गर्ने र स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति विकास गर्ने आधार पनि यसले तयार गरेको छ।
चिकित्सा शिक्षा अध्ययन आर्थिक रूपमा पहुँचबाहिर नहोस् भन्ने उद्देश्यले स्वीकृत कार्यक्रमका लागि ७५ प्रतिशत छात्रवृत्ति व्यवस्थापन गर्न ७ करोड ३९ लाख ३९ हजार रुपैयाँ स्रोत सुनिश्चित गरिएको विश्वविद्यालयले जनाएको छ। यसले आर्थिक रूपमा कमजोर तर योग्य विद्यार्थीलाई सरकारी विश्वविद्यालयमार्फत चिकित्सा शिक्षा अध्ययनको अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ।
दशकौँको प्रतीक्षापछि चिकित्सा शिक्षाको ढोका खुल्दै
गेटामा ठूलो भौतिक संरचना तयार भइसके पनि अस्पताल सञ्चालन र चिकित्सा शिक्षा अध्यापनको विषय लामो समय अन्योलमा थियो। २०८० कात्तिकदेखि अस्पताल सञ्चालनमा आए पनि एमबीबीएस पढाइ कहिले सुरु हुन्छ भन्ने प्रश्न कायमै थियो। पछिल्लो समय चिकित्सा शिक्षा आयोगबाट चारवटा कार्यक्रममा ९० सिट निर्धारण भएपछि त्यो अन्योल क्रमशः हट्ने अवस्थामा पुगेको हो।
एमबीबीएसका ५० सिट स्वीकृत हुनु गेटा विश्वविद्यालयको सबैभन्दा ठूलो उपलब्धिका रूपमा देखिएको छ। एमबीबीएससँगै नर्सिङ, मेडिकल ल्याबोरेटरी टेक्नोलोजी र अप्टोमेट्रीको पढाइ सुरु भएपछि गेटा सुदूरपश्चिममा चिकित्सा शिक्षा उत्पादन गर्ने प्रमुख केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ।
विश्वविद्यालयले चिकित्सा शिक्षाको गुणस्तर कायम गर्न बेसिक साइन्स विभाग, शैक्षिक प्रयोगशाला, आवश्यक प्राध्यापक तथा सहायक जनशक्ति र उपकरण व्यवस्थापनको तयारीसमेत अघि बढाएको जनाएको छ।
अस्पतालको क्षमता विस्तार, ६२२ शय्या मौजुदा
विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालमा विभिन्न विभागमा गरी ६२२ शय्या मौजुदा रहेको प्रगति विवरणमा उल्लेख छ। यद्यपि, चिकित्सा शिक्षा आयोगको ३०० शय्याको मापदण्डका सन्दर्भमा हाल ३२५ शय्या सञ्चालनमा रहेको र बाँकी क्षमता क्रमशः उपयोगमा ल्याउने तयारी भइरहेको विवरणमा उल्लेख छ।
अस्पतालमा जनरल मेडिसिन, जनरल सर्जरी, अर्थोपेडिक्स, स्त्री तथा प्रसूति रोग, बालरोग, मानसिक रोग, छालारोग, नाक–कान–घाँटी, न्युरोलोजी तथा दन्तरोगलगायतका विभाग सञ्चालनमा छन्।
आकस्मिक सेवा, आईसीयू, एनआईसीयू, पीआईसीयू, एचडीयू, शल्यक्रिया तथा शल्यक्रियापछिको उपचार सेवासहित प्याथोलोजी, बायोकेमिस्ट्री, माइक्रोबायोलोजी, एक्स–रे, अल्ट्रासाउन्ड, ईसीजी, इकोकार्डियोग्राफी, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी र फार्मेसी सेवा पनि उपलब्ध रहेको विश्वविद्यालयले जनाएको छ।
रक्षा मन्त्रालयमार्फत प्राप्त ५०० थान शय्या इन्डोर वार्ड, आईसीयू तथा आकस्मिक कक्षमा व्यवस्थापन गरिएको छ। यसले अस्पतालको भौतिक क्षमता बढाउन आधार तयार गरेको विश्वविद्यालयको दाबी छ।
विशेषज्ञ उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घटाउने लक्ष्य
गेटा विश्वविद्यालयको लक्ष्य चिकित्सा शिक्षा सञ्चालनमा मात्र सीमित छैन। सुदूरपश्चिमलाई विशिष्टीकृत स्वास्थ्य सेवाको केन्द्र बनाउने योजना पनि अघि सारिएको छ।
विश्वविद्यालयले क्याथ ल्याब स्थापना गरी मुटुरोगको विशिष्टीकृत उपचार सेवा सुरु गर्ने, बर्न युनिट र ट्रमा सेन्टर स्थापना गर्ने तथा सिटी स्क्यान, एमआरआई, डायलाइसिस, युरोलोजी र क्यान्सरसम्बन्धी सेवा विस्तार गर्ने योजना बनाएको छ।
यी सेवा सञ्चालनमा आए सुदूरपश्चिमका बिरामीले जटिल तथा विशिष्टीकृत उपचारका लागि प्रदेशबाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। विश्वविद्यालयले चिकित्सा शिक्षा, अस्पताल सेवा र स्वास्थ्य अनुसन्धानलाई एकीकृत गर्दै गेटालाई प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
५४४ दरबन्दी, थप १५१ जनाको प्रक्रिया


