सामाजिक विकास समितिमा अड्किएका विधेयक अघि बढाउन कांग्रेसको आग्रह

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिमा लामो समयदेखि दफावार छलफलका क्रममा रहेका विधेयकहरू तत्काल टुङ्ग्याएर प्रदेशसभामा पेस गर्न आग्रह गरेको छ।
कांग्रेस प्रदेशसभा संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले समिति सभापति धर्मराज पाठकसँग आज छलफल गर्दै विचाराधीन विधेयकको प्रक्रिया छिटो टुङ्ग्याउन आग्रह गरेका हुन्।
शाहले आफू नेतृत्वको सरकारले प्रदेशसभा सचिवालयमा दर्ता गराएका दुई विधेयक लामो समयदेखि समितिमै रहेको भन्दै सभापति पाठकको ध्यानाकर्षण गराएका थिए। उनको नेतृत्वको सरकारले २०८१ चैत ३ गते ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र २०८२ जेठ २१ गते ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गराएको थियो।
यी दुवै विधेयक लामो समयसम्म सदनको प्रक्रियामा अघि नबढेपछि गत वैशाख १७ गते कांग्रेस संसदीय दलको बैठकले तत्काल सदनमा पेस गरी छलफल प्रक्रिया अघि बढाउन सभामुखको ध्यानाकर्षण गराएको शाहले बताए।
उनका अनुसार जेठ ११ गते प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुवै विधेयक टेबल भएका थिए। जेठ २० गते सामान्य छलफलपछि जेठ २६ गते दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको थियो।
‘छलफलका क्रममा रहेका यी दुई विधेयकसहित अन्य विचाराधीन विधेयकलाई समेत छिटो टुङ्ग्याएर प्रदेशसभामा पठाउन छलफल भएको हो,’ शाहले भने।
विधेयकहरू लामो समयसम्म समितिमै रोकिँदा प्रदेशसभाको विधायिकी कार्यसम्पादन र संसदीय प्रक्रियामाथि प्रश्न उठ्न सक्ने कांग्रेसको भनाइ छ। जनसरोकार र प्रदेशको दीर्घकालीन विकाससँग जोडिएका विधेयकलाई प्राथमिकताका साथ अघि बढाउन समिति सभापति पाठकसमेत सहमत भएको जनाइएको छ।





प्रतिकृया दिनुहोस्