October 30, 2026, Friday
२०८३ कार्तिक १४

एनपिएलमा सुदूरपश्चिम प्रदेशका ३० खेलाडी, कञ्चनपुरका मात्रै १३ जना

धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशले खेलाडी उपस्थितिको हिसाबले बलियो प्रभाव देखाएको छ। काठमाडौंमा जारी प्रतियोगिताका आठवटै टोलीमा सुदूरपश्चिमका ३० खेलाडी अनुबन्धित छन्, जसमध्ये कञ्चनपुरका मात्रै १३ जना छन्।

गृहप्रदेशको टोली सुदूरपश्चिम रोयल्समा नेपालका चर्चित क्रिकेटर तथा कप्तान दीपेन्द्रसिंह ऐरीसहित सुदूरपश्चिमका १० खेलाडी छन्। नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दको गृहप्रदेशसमेत रहेको सुदूरपश्चिमका खेलाडीले एनपिएलका सबै आठ टोलीबाट प्रतिनिधित्व गरिरहेका छन्।

कञ्चनपुर क्रिकेट संघका अध्यक्ष एवं क्यानका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दका अनुसार सुदूरपश्चिमका नौ जिल्लामध्ये एनपिएलमा सबैभन्दा बढी खेलाडी कञ्चनपुरका छन्। उनका अनुसार सुदूरपश्चिमले क्रिकेटसँगै विभिन्न खेलका प्रतिभा उत्पादनमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

“सुदूरपश्चिम क्रिकेट मात्रै होइन, प्रायः धेरै खेलका खेलाडी उत्पादन गर्ने थलोका रूपमा नतिजाबाट अग्रस्थानमा छ,” चन्दले भने, “तर खेल पूर्वाधारको अवस्था अझै दयनीय छ भन्दा फरक पर्दैन।” उनका अनुसार बैतडीमा क्रिकेट मैदान भए पनि अन्य जिल्लामा सीमित पूर्वाधारकै भरमा प्रशिक्षण सञ्चालन भइरहेको छ।

सुदूरपश्चिम रोयल्समा कञ्चनपुरका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, हेमन्त धामी र मिलन बोहरा छन्। बैतडीका हिक्मत महरा र दीपक बोहरा, अछामका सचिन भट्ट, कैलालीका टेक रावत र आयुब चन्द तथा डडेल्धुराका टेकराज थलाल पनि रोयल्सबाट खेलिरहेका छन्।

लुम्बिनी लायन्सबाट कञ्चनपुरका सन्दीप जोरा र दिलीप नाथ, डोटीका शेर मल्ल तथा अछामका दिनेश अधिकारी छन्। जनकपुर बोल्ट्समा कञ्चनपुरका विकास आग्री र आदित्य महता तथा काठमाडौं गोर्खाजमा कञ्चनपुरका भीम सार्की र साजन गौतम एवं कैलालीका प्रसिद्ध जैसी अनुबन्धित छन्।

विराटनगर किङ्ग्सबाट डोटीका लोकेश बम तथा कैलालीका नारायण जोशी र नरेन साउँद खेलिरहेका छन्। कर्णाली याक्समा बझाङका युवराज खत्री छन्। चितवन राइनोजमा कञ्चनपुरका कमलसिंह ऐरी, कैलालीका अर्जुन साउद र विपिन रावल, बझाङका अशोक धामी तथा डडेल्धुराका दीपक बोहरा छन्। पोखरा एभेन्जर्सबाट कञ्चनपुरका आकाश चन्द र किरण ठगुन्नाले एनपिएल खेलिरहेका छन्।

चन्दका अनुसार सुदूरपश्चिमले हरेक वर्ष नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्दै आएको छ। “अहिले जारी एनपिएल खेलिरहेका अधिकांश खेलाडीले यसअघिका दुई संस्करणसमेत खेलिसकेका छन्,” उनले भने, “सुदूरपश्चिमको क्रिकेट क्रेज एनपिएलमा यहाँका दर्शकको उपस्थितिले पनि देखाइसकेको छ।”

खेलाडी उत्पादनमा अग्रस्थानमा रहेको सुदूरपश्चिममा क्रिकेट पूर्वाधार निर्माणमा राज्यले प्राथमिकता दिनुपर्ने चन्दको भनाइ छ। “धनगढीको फाप्ला क्रिकेट मैदानको चर्चा चुलिएको लामो समय भयो, तर अझै सम्पन्न भएको छैन,” उनले भने, “कञ्चनपुरको महेन्द्रनगरमा २०७२ सालदेखि निर्माणाधीन क्रिकेट मैदानसमेत अझै अपूर्ण छ।”

राष्ट्रिय खेलकुद परिषद्ले चालु आर्थिक वर्षमा महेन्द्रनगरको क्रिकेट मैदान निर्माणका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेकाले मैदानले पूर्णता पाउने आशा पलाएको चन्दले बताए। “महेन्द्रनगरमा निर्माणाधीन मैदानका लागि विनियोजित बजेटको ठेक्का प्रक्रिया हुने चरणमा छ,” उनले भने, “अब अर्को वर्षदेखि खेलाडीले आफ्नै मैदानमा नियमित प्रशिक्षण र प्रतियोगिता खेल्न पाउनेमा आशावादी छौँ।”