October 31, 2026, Saturday
२०८३ कार्तिक १५

वर्षाका कारण लुम्बिनी-चितवन खेल रद्द, दुवै टोलीलाई एक-एक अंक

काठमाडौं । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल सञ्चालन गर्न योग्य नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए।

लगातारको झरीले मैदान पूरै भिजेका कारण निर्धारित समयसम्म खेल सञ्चालन गर्न सकिने अवस्था नबनेपछि खेल रद्द गर्ने निर्णय गरिएको हो। खेल रद्द भएसँगै लुम्बिनी र चितवनले एक–एक अंक बाँडेका छन्।

क्यानका अनुसार आजै दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका छ। उक्त खेल अपराह्न ५ बजेबाट सुरु हुने पूर्वनिर्धारित कार्यक्रम रहे पनि वर्षाका कारण प्रभावित हुने सम्भावना छ।

मैदानको अवस्था र मौसममा सुधार नआए दोस्रो खेलसमेत सञ्चालनमा चुनौती देखिएको छ। खेल हुने वा नहुनेबारे मैदान निरीक्षणपछि निर्णय हुने अपेक्षा गरिएको छ।

कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएलको तेस्रो संस्करण मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।