प्रचण्डको आह्वान : आग्रह-पूर्वाग्रह त्यागेर बृहत् कम्युनिस्ट एकतामा जुटौँ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटमा रहेको भन्दै सबैखाले आग्रह–पूर्वाग्रह त्यागेर बृहत् कम्युनिस्ट एकताको अभियानमा जुट्न वामपन्थी शक्तिलाई आह्वान गरेका छन्।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले विगतमा सहकार्य गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न कम्युनिस्ट धारका शीर्ष नेताहरूलाई एकतामा आउन आग्रह गरेका हुन्।
उनले भने, ‘म यहीँबाट कमरेड केपी ओली, मोहनविक्रम सिंह, मोहन वैद्य लगायत विगतमा सहकार्य गरेका सबै कमरेडहरूलाई आह्वान गर्न चाहन्छु– देश सङ्कटमा छ। त्यसैले सबैखाले आग्रह र पूर्वाग्रहबाट मुक्त भएर एकताको यो महाअभियानमा जुटौँ।’
प्रचण्डले अहिलेको एकता कुनै एउटा समूह वा पार्टी विस्तार गर्ने प्रयास मात्र नभई देशको राजनीतिक संकट समाधान र वामपन्थी शक्तिको पुनःध्रुवीकरणको सुरुआत भएको दाबी गरे।
उनले शान्ति प्रक्रियामा आएदेखि नै कम्युनिस्ट शक्तिबीच एकताका लागि आफूले पटक–पटक पहल गरेको स्मरण गरे। संविधान जारी भएपछि जनताले कम्युनिस्ट शक्तिबाट ठूलो अपेक्षा राखेको भन्दै आफू पुनः एमालेसँग एकताको प्रस्ताव लिएर तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीकहाँ पुगेको उनले बताए।
‘सजिलैसँग एकता नहुने देखेपछि मैले तपाईं नै प्रधानमन्त्री बन्नोस् भनेको थिएँ,’ विगतको प्रसंग सम्झिँदै प्रचण्डले भने, ‘त्यसपछि तत्काल चुनावी कार्यगत एकता र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमति भयो। निर्वाचनमा हामीले झण्डै दुई–तिहाइ मत पनि प्राप्त गर्यौँ।’
उनका अनुसार तत्कालीन वाम गठबन्धनले पाएको जनमत नेपालमा सुशासन, स्थायित्व र समाजवादको आधार निर्माण गर्ने ‘गोल्डेन अवसर’ थियो। तर, त्यो अवसरलाई जोगाउन नसकिएको उनले स्वीकार गरे।
विगतको एकता असफल भएको घटनालाई निराशाको कारण बनाउन नहुने भन्दै प्रचण्डले त्यसबाट पाठ सिकेर पुनः एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढाउनुपर्ने बताए। अहिलेको पार्टी एकतालाई उनले त्यही प्रक्रियाको सुरुआतका रूपमा व्याख्या गरे।
एमालेभित्र असन्तुष्टलाई माधव नेपालको निम्तो
एकता घोषणा सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले एमालेमा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई समेत एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।
नेपालले विभिन्न कम्युनिस्ट घटकबीच एकता आवश्यक रहेको उल्लेख गर्दै एमालेभित्र राजनीतिक रूपमा उकुसमुकुसमा रहेका नेता–कार्यकर्तालाई समेत एकताको प्रक्रियामा आउन आग्रह गरे।
‘एमालेमा विभिन्न हिसाबले उकुसमुकुसका साथ बसिरहेकालाई पनि के शब्द प्रयोग गर्ने रु विद्रोह गरेर आउन भन्ने कि सिंगै पार्टी लिएर आउन भन्ने रु’ उनले प्रश्न गरे।
उनले विप्लवदेखि मोहनविक्रम सिंह र मोहन वैद्य नेतृत्वका कम्युनिस्ट घटकलाई समेत एकताबद्ध हुन आग्रह गरे। विगतमा विभिन्न धारमा विभाजित भए पनि राष्ट्रियता, संविधान, गणतन्त्र, समावेशिता र जनअधिकारको संरक्षणका सवालमा साझा राजनीतिक धरातल निर्माण गर्न सकिने उनको भनाइ थियो।
नेपालले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग समाजवादी मोर्चामार्फत गरिएको सहकार्यलाई समेत स्मरण गराउँदै त्यसलाई थप व्यापक राजनीतिक अभियानका रूपमा अघि बढाउनुपर्ने बताए।
१० बुँदे सहमतिसहित दुई कम्युनिस्ट पार्टी एकताबद्ध
यसैबीच नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक एकता घोषणा भएको छ। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो।
एकता सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन्।
दुई पार्टीबीच १० बुँदे सहमति भएको छ। सहमतिमा आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने विषयसमेत समेटिएको छ।
त्यस्तै केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा समायोजन गर्ने व्यवस्था गरिएको छ।
दुई पार्टीको एकतालाई प्रचण्ड–नेपाल पक्षले विगतमा विभाजित भएको वामपन्थी राजनीतिक शक्तिलाई पुनः एउटै राजनीतिक ध्रुवमा ल्याउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्। तर, एकता घोषणासँगै एमालेसहित अन्य कम्युनिस्ट घटकलाई समेत समेट्ने नेताहरूको सार्वजनिक आह्वानले आगामी दिनमा नेपालको वाम राजनीतिमा थप ध्रुवीकरणको सम्भावना बढाएको देखिन्छ।
प्रचण्ड र नेपालका अभिव्यक्तिले तत्कालीन नेकपा विभाजनपछि अलग–अलग धारमा पुगेका वामपन्थी शक्तिलाई पुनः एउटै राजनीतिक मोर्चामा ल्याउने रणनीति अघि सारिएको संकेत गर्छ। अबको चुनौती भनेको घोषणामा सीमित नरही संगठनात्मक समायोजन, नेतृत्व व्यवस्थापन र आगामी निर्वाचनमा साझा राजनीतिक आधार निर्माण गर्नु हुनेछ।



प्रतिकृया दिनुहोस्