November 3, 2026, Tuesday
२०८३ कार्तिक १८

भाइटीकाको शुभसाइत सार्वजनिक, कात्तिक २५ गते बिहान ११ः०७ बजे

काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।

समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन्।

कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ। त्यसैगरी कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ।

कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ।

यस्तै, कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।

यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइने समितिले जनाएको छ।

समितिका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउने परम्परा रहेको छ।

यस वर्षको भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे तोकिएको हो।