November 3, 2026, Tuesday
२०८३ कार्तिक १८

अन्तिम बलमा जनकपुर स्तब्ध, विराटनगरको दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले रोमाञ्चक खेलमा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार विराटनगरले दिएको १७४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो।

जनकपुरलाई अन्तिम बलमा जितका लागि ३ रन आवश्यक थियो। विराटनगरका आन्द्रे रसेल बलिङमा थिए। सैफ हसनले छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा पार्ने प्रयास गरे पनि उनको प्रहार बसिर अहमदले उत्कृष्ट क्याच लिएपछि विराटनगरले रोमाञ्चक जित हात पार्‍यो।

विराटनगरको जितमा आन्द्रे रसेल नायक बने। ब्याटिङतर्फ अर्धशतक प्रहार गरेका रसेलले बलिङमा समेत उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरका महत्वपूर्ण चार विकेट लिए। अन्तिम बलमा सैफलाई आउट गर्दै उनले विराटनगरको जित सुनिश्चित गरे।

जनकपुरका लागि सैफ हसनले ७१ रन बनाए। उनले टोलीलाई जिततर्फ डोर्‍याउने प्रयास गरे पनि अन्तिम क्षणमा आउट भएपछि जनकपुरको जितको सम्भावना समाप्त भयो। विशाल सस्लिङले ४३ तथा जिमी निशमले २७ रन बनाए।

बलिङतर्फ रसेलले ४ विकेट लिए भने एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा १७३ रन बनाउँदै जनकपुरसामु १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

रोमाञ्चक जितसँगै विराटनगरले प्रतियोगितामा आफ्नो अभियान थप बलियो बनाएको छ भने जनकपुरले महत्वपूर्ण खेलमा हार व्यहोरेको छ।