पत्रकार धरपकडबारे छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारगृहको न्युजरुममा प्रहरी प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गर्ने घटना अस्वीकार्य भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। साथै, न्यायालय क्षेत्रमा देखिएका विकृति, विसंगति र विवाद समाधानका लागि आवश्यक प्रक्रिया संसदबाटै अघि बढाउने निर्णय गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले सञ्चारमाध्यममाथि भएको पछिल्लो घटनाको तत्काल छानबिन गरी घटना किन, कसरी र कसको निर्देशनमा भएको हो भन्ने स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री कार्यालयले घटनामा आफ्नो संलग्नता नरहेको बताइरहेको अवस्थामा पनि घटनाको वास्तविकता बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको बताए।
“हिजो जुन घटना भयो त्यसमा प्रधानमन्त्री कार्यालयले पनि आफ्नो संलग्नता नभएको बताइरहँदा बैठकले सरकारलाई स्पष्ट रूपमा यो किन, कसरी भयो र कसले गर्यो भन्ने छानबिन गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएको छ,” खरेलले भने।
उनले दोषीमाथि कारबाही गर्दा कुनै सम्झौता नगर्न र शीघ्र कारबाही गरेर परिणाम देखाउन सरकारलाई आग्रह गरे। समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्ने तथा सञ्चारगृहमा प्रहरी प्रवेश गर्ने गतिविधि प्रेस स्वतन्त्रताको मान्यताविपरीत रहेको उनको भनाइ थियो।
खरेलले रास्वपाले ‘सोसल डेमोक्रेसी’लाई आत्मसात् गर्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रताप्रति पार्टी प्रतिबद्ध रहेको बताए। सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हुने हस्तक्षेप स्वीकार्य नहुने उनले स्पष्ट पारे।
यसैगरी, रास्वपाले न्यायालय क्षेत्रमा देखिएका विकृति, विसंगति र विवाद समाधानका लागि संसदबाट आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। न्याय क्षेत्रको समग्र पुनर्संरचनाका लागि संसदीय दललाई आवश्यक निर्देशन दिइसकेको खरेलले जानकारी दिए।
शक्ति पृथकीकरणको सिद्धान्तअनुसार न्यायालय र कार्यपालिकाबाट मात्र नभई संवैधानिक बाटोबाट संसदमार्फत पनि न्याय निरूपण र पुनर्संरचनाको विषय अघि बढाउन सकिने उनको भनाइ थियो।
महाअभियोगसम्बन्धी प्रश्नमा खरेलले त्यसबारे अहिले नै निष्कर्षमा पुग्नेभन्दा संसदीय दलमार्फत विषय संसदमा प्रवेश गरेपछि आवश्यक प्रक्रिया र टुंगो लाग्ने बताए।





प्रतिकृया दिनुहोस्