October 23, 2026, Friday
२०८३ कार्तिक ८

जाजरकोटमा जिप ३ सय मिटर तल खस्यो : दुई जनाको मृत्यु, तीन घाइते

जाजरकोट। जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सान्तबहादुर बस्नेत र जुनीचाँदे–३, स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीले जानकारी दिए।

दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा शिशिर भण्डारी र जुनीचाँदे गाउँपालिकाकी ५० वर्षीया सितला टमटा घाइते भएका छन्।

प्रहरीका अनुसार दिलबहादुरको टाउको, घाँटी र छातीमा चोट लागेको छ। शिशिरको टाउको र हातमा तथा सितलाको टाउको र ढाडमा चोट लागेको छ। तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको डीएसपी पुरीले बताए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ बिहान २ बजेर १५ मिनेटमा प्रहरी चौकी जुनीचाँदेबाट प्रहरी सहायक निरीक्षक किरण रानाको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनास्थल प्रहरी चौकी जुनीचाँदेबाट करिब सात किलोमिटर पूर्व–उत्तरमा पर्छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।