नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने गरिन्छ।
नवरात्रमा देवीको आराधना गरी विधिपूर्वक पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्।
दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा, आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। यस वर्ष पनि काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठलाई विशेष रूपमा सजाइएको छ। नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलिमिली बनाइएको छ।
नवरात्रका नौ दिन पूजा आराधना गरेपछि त्यसको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। यसरी नेपाली समाजमा बडादशैं करिब १५ दिनसम्म मनाउने गरिन्छ।




प्रतिकृया दिनुहोस्