October 23, 2026, Friday
२०८३ कार्तिक ८

डोटीको बडीकेदार गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई २५ लाख ५२ हजार सहयोग गर्ने

डोटी । डोटीको बडीकेदार गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख ५२ हजार १८३ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको ५७औँ बैठकले बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने सर्वसम्मत निर्णय गरेको हो।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा बाढी विपद्का कारण ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टका अनुसार सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख रुपैयाँ, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पाँच दिनको सेवा–सुविधाबापत ६० हजार २४ रुपैयाँ र अधिकृतस्तरका कर्मचारीको सात दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन तथा कार्यालय सहयोगी/स्वीपरको दुई दिनको तलबबापत ८ लाख ३९ हजार १७८ रुपैयाँ संकलन गरिएको छ।

त्यस्तै, शिक्षक, बालविकास सहजकर्ता तथा पालिका अनुदानमा कार्यरत प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक तथा कर्मचारीबाट १५ लाख ५२ हजार ९८१ रुपैयाँ सहयोग संकलन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–कर्मचारी सबैको सहभागिता आवश्यक रहेको जनाएको छ।