सांसद खतिवडाको उजुरीमा दुर्गा प्रसाईं पक्राउ, साइबर अपराधमा अनुसन्धान

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका छन् । साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोका एसपी दिलीप गिरीका अनुसार प्रसाईंमाथि विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईं पक्राउ परेका हुन् ।
प्रसाईंले सामाजिक सञ्जाल तथा युट्युबमार्फत आफूलाई लक्षित गर्दै अपमानजनक टिप्पणी गरेको भन्दै सांसद खतिवडाले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । उनले उक्त विषय संसद्मा समेत उठाउँदै असोज ६ गते आफूलाई गरिएको टिप्पणीप्रति आपत्ति जनाएकी थिइन् ।
‘सहिदकी आमाको यत्रो अपमान हुँदा सरकार के हेरेर बसेको छ ?’ भन्दै उनले संसद्मा प्रश्न गरेकी थिइन् । ब्यूरोका एक अधिकृतका अनुसार खतिवडाको जाहेरीमा प्रसाईंको अभिव्यक्तिबाट सहिदको अपमान र आफ्नो चरित्र हत्या भएको दाबी गरिएको छ ।
पक्राउपछि प्रहरीले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ । पछिल्लो समय प्रसाईंमाथि प्रहरी अनुसन्धान र पक्राउको शृङ्खला दोहोरिँदै आएको छ ।
जेनजी आन्दोलनअघि र त्यसपछि पनि विभिन्न प्रकरणमा पक्राउ पर्दै आएका प्रसाईं अन्तरिम सरकार गठनपछि समेत पटक–पटक प्रहरी नियन्त्रणमा परेका थिए । बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि उनको पक्राउ र रिहाइको क्रम रोकिएको छैन ।
यसपटक भने सत्तारुढ सांसदको उजुरी, सामाजिक सञ्जालमा गरिएको टिप्पणी र विद्युतीय अपराधसम्बन्धी अनुसन्धान जोडिएपछि प्रसाईं पुनः प्रहरी हिरासतमा पुगेका छन् ।





प्रतिकृया दिनुहोस्