पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आज पेसी

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ हुँदैछ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र उमेश कोइराला रहेको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीले सार्वजनिक पदमा रहँदा स्रोत नखुलेको १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बराबरको सम्पत्ति आर्जन गरेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले यही रकमलाई बिगो कायम गरी २०८२ जेठ १९ गते विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो ।
अभियोगपत्रअनुसार सोडारीले २०७४ माघ ७ देखि २०७९ माघ १० गतेसम्म सार्वजनिक सेवाको पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ ।
आयोगको अनुसन्धानअनुसार उक्त अवधिमा सोडारीको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक र सामाजिक सुरक्षा भत्तालगायत स्रोतबाट ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा आम्दानी भएको देखिएको छ ।
तर, सोही अवधिमा जग्गा खरिद, घर निर्माण तथा भित्री सजावट, छोरीको अध्ययन, छोराको विवाह, सेयर लगानी र चुनाव खर्चलगायत शीर्षकमा १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च भएको अख्तियारको दाबी छ ।
आय र व्ययको तुलना गर्दा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बराबरको रकमको स्रोत नखुलेको आयोगको निष्कर्ष छ ।
अख्तियारले सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीका नाममा खरिद गरिएका जग्गा, निर्माण गरिएको घर तथा बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ ।
मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले सोडारीमाथि लगाइएको आरोप अदालतबाट अन्तिम रूपमा प्रमाणित भइसकेको छैन । सोमबारको सुनुवाइपछि मुद्दाको आगामी प्रक्रियाबारे अदालतले निर्णय गर्नेछ ।



प्रतिकृया दिनुहोस्