देउवालाई १५औँ महाधिवेशनको उद्घाटनको अध्यक्षता गराएर बिदा गर्न तयार छौँ : बलायर

डोटी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीभित्रको विभाजन अन्त्य गरी एकता कायम गर्ने हो भने पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर बिदा गर्न आफूहरू तयार रहेको बताएका छन् ।
गृहजिल्ला डोटीमा सोमबार नेपाल प्रेस युनियन डोटीद्वारा आयोजित पत्रकार सम्मेलनमा बलायरले १६ असोजमा हुने महाधिवेशन उद्घाटनको अध्यक्षता देउवालाई गराएर १७ असोजमा बिदा गर्न सकिने प्रस्ताव अघि सारे । नेतृत्वले पार्टी एकताका लागि लचकता अपनाउने हो भने अझै सहमतिको बाटो खुला रहेको उनको भनाइ छ ।
‘अझै पनि गगन थापाले १६ गतेको उद्घाटनको अध्यक्षता शेरबहादुर देउवालाई गराएर १७ गते बिदा गरिदियो भने पनि त्यसका लागि तयार छौँ हामी,’ बलायरले भने ।
उनले तल्लो तहका अधिवेशनहरू जारी रहेकाले दुवै पक्षबाट निर्वाचित महाधिवेशन प्रतिनिधिलाई समायोजन गरेर पार्टीलाई एकताबद्ध गर्न सकिने बताए । आवश्यक परे महाधिवेशनको तिथिमिति समेत पुनः निर्धारण गर्न सकिने उनको भनाइ छ ।
‘यदि पार्टीलाई मिलाउने हो भने दुवैतिरका महाधिवेशन प्रतिनिधिहरूलाई एकै ठाउँमा हालेर पनि तिथिमिति सार्न सक्नुपर्यो,’ बलायरले भने ।
बलायरले पूर्वसभापति देउवाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको हस्ताक्षर भएको टिकट माग्दा समेत नपाएको विषयलाई पनि कांग्रेसभित्रको पछिल्लो शक्ति संघर्षसँग जोडेर हेर्नुपर्ने बताए ।
‘शेरबहादुर देउवाले गगन थापाको दस्तखतको टिकट माग्दा पनि नपाउनु राजनीतिक रूपमा के हो ?’ प्रश्न गर्दै उनले भने, ‘यी कुराहरू पत्रकारहरूले पनि बुझ्नुप¥यो ।’
विशेष महाधिवेशनबाट स्थापित नेतृत्वले देउवाको उक्त चाहना पूरा गरिदिएको भए उचित हुने बलायरको भनाइ थियो । विशेष महाधिवेशनको प्रक्रियालाई देउवाले अस्वीकार गर्दै आए पनि त्यही प्रक्रियाबाट स्थापित सभापतिको हातबाट टिकट लिएर डडेल्धुराबाट निर्वाचन लड्ने उनको इच्छा रहेको उनले बताए ।
‘विशेषलाई अस्वीकार गर्दागर्दै पनि विशेषबाट स्थापित भएको सभापतिको हातबाट म टिकट लिएर डडेल्धुरामा लड्छु भन्ने उहाँको इच्छा थियो,’ बलायरले भने, ‘उहाँको अन्तिम इच्छा पूरा गरिदिएको भए हुन्थ्यो नि ।’
कांग्रेसमा १५औँ महाधिवेशनलाई लिएर संस्थापन र देउवा पक्षले अलग–अलग कार्यतालिका अघि सारेका छन् । संस्थापन पक्षले असोज ३ देखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएको छ ।
देउवा पक्षले भने असोज १५ देखि वडा अधिवेशन सुरु गरी मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । उसले वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्मको छुट्टै प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
यसरी कांग्रेसको महाधिवेशन प्रक्रिया दुई छुट्टाछुट्टै कार्यतालिकामा अघि बढिरहेका बेला बलायरको पछिल्लो अभिव्यक्तिले पार्टीभित्रको विवाद समाधानका लागि सहमतिको सम्भावना अझै खुला रहेको संकेत गरेको छ ।



प्रतिकृया दिनुहोस्