पास्नीभोजमा कुटपिटपछि बोहराको मृत्यु, शव भीरमा फालेर दुर्घटना देखाउने प्रयास

धनगढी । कैलालीको चुरे गाउँपालिका–१ निगालीमा पास्नीभोजका क्रममा भएको विवादले गम्भीर अपराधको रूप लिएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ । मदिरा सेवनका क्रममा भएको विवादमा कुटपिटबाट ५२ वर्षीय यज्ञबहादुर बोहराको मृत्यु भएको र घटना लुकाउन शव भीरमा लगेर फालिएको प्रहरीको दाबी छ ।
असोज ५ गते नातेदार धनबहादुर बोहराको नातीको पास्नीमा सहभागी हुन पुगेका यज्ञबहादुर त्यसपछि सम्पर्कविहीन भएका थिए । खोजीका क्रममा उनको शव तुलिखेत जंगलस्थित भीरमा फेला परेको थियो । सुरुमा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि अनुसन्धान अघि बढेपछि घटनाको प्रकृति फरक देखिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पास्नी भएको घरका मूली धनबहादुर बोहरासहित मानबहादुर बोहरा, गोविन्द बोहरा, यज्ञबहादुर बोहरा, दिलीप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा छन् ।
मृतकका छोराले दिएको जाहेरीका आधारमा आठै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराले बताए ।
प्रहरीका अनुसार पास्नीमा मदिरा सेवन गर्ने क्रममा यज्ञबहादुर र मानबहादुरबीच विवाद भएको थियो । अघिल्लो दिन श्रीमतीलाई गाली गरेको विषयबाट सुरु भएको भनिएको विवाद कुटपिटमा परिणत भएपछि यज्ञबहादुर भुइँमा ढलेर अचेत भएका थिए ।
कुटपिटपछि यज्ञबहादुर अचेत अवस्थामा रहेको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा एक व्यक्तिले ‘मरेपछि म जेल जाने हुँ’ भनेको र अर्का व्यक्तिले ‘तपाईंले गलत गर्नुभयो’ भनेको सुनिन्छ । प्रहरीले उक्त भिडियोसहित घटनासँग जोडिएका अन्य प्रमाणको समेत अनुसन्धान गरिरहेको जनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यज्ञबहादुरको मृत्यु कुटपिटकै क्रममा सोही राति भएको प्रारम्भिक निष्कर्ष छ । त्यसपछि घटना लुकाउन शवलाई भीरतर्फ लगेर फालिएको र भीरबाट लडेर मृत्यु भएको देखाउने प्रयास गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकामध्ये केहीले प्रहरीसमक्ष घटनास्थलमै यज्ञबहादुरको मृत्यु भएको र आफूहरू फस्ने डरले शव भीरमा फालेको बयान दिएको प्रहरी स्रोतको दाबी छ । यद्यपि, बयानको सत्यता तथा घटनामा संलग्न सबै व्यक्तिको भूमिका पुष्टि गर्न प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रारम्भमा दुई जनाबीच विवाद र कुटपिट भएको देखिए पनि शव भीरमा फाल्ने कार्यमा अन्य व्यक्तिको संलग्नता वा पूर्वयोजना थियो कि थिएन भन्ने विषय अझै अनुसन्धानकै क्रममा छ ।
डीएसपी महराले घटना अनुसन्धानकै क्रममा रहेकाले विस्तृत विवरण अहिले सार्वजनिक गर्न नमिल्ने बताए । उनका अनुसार घटनाका विभिन्न पाटो र कोणबाट अनुसन्धान भइरहेको छ ।



प्रतिकृया दिनुहोस्