September 24, 2026, Thursday
२०८३ आश्विन ८

कैलाली विद्या निकेतनमा ५७ विद्यार्थीको सिर्जनशीलता, कथा-कवितासँगै प्रतिबद्धता

धनगढी । विद्यार्थीमा सिर्जनशीलता, अभिव्यक्ति क्षमता र आत्मविश्वास विकास गर्ने उद्देश्यले धनगढीस्थित कैलाली विद्या निकेतनमा आयोजित तीनदिने कथा लेखन तथा वाचन कार्यशाला सम्पन्न भएको छ।

असोज ५ गतेदेखि सञ्चालन भएको कार्यशालामा कक्षा ६ देखि १० सम्मका ५७ जना विद्यार्थी सहभागी थिए। विद्यार्थीलाई कथा लेखनका आधारभूत पक्ष, कथाको संरचना, कल्पनाशीलता तथा आफ्ना सिर्जना प्रस्तुत गर्ने तरिकाबारे अभ्यास गराइएको थियो।

समापन कार्यक्रममा विद्यार्थीहरूले कार्यशालाका क्रममा तयार पारेका कथा, कविता तथा अन्य साहित्यिक रचना प्रस्तुत गरे। उनीहरूले अभिभावकका लागि तयार पारेका प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका थिए।

कार्यक्रममा नेपाल बालसाहित्य समाजका अध्यक्ष विजय आचार्यले बालबालिकामा सिर्जनशीलता विकासका लागि पठन र लेखन संस्कृतिको विकास आवश्यक रहेको बताए। उनले बालबालिकालाई साहित्यकार बन्नैपर्छ भन्नेभन्दा पनि रुचि र क्षमताअनुसार आफ्नो क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुपर्ने बताए।

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले हरेक व्यक्ति साहित्यकार बन्न आवश्यक नरहेको बताए। ‘इन्जिनियर, शिक्षक, किसान वा डाक्टर जे बने पनि हुन्छ, तर असल मानिस बन्नुपर्छ,’ उनले भने। विद्यालय तहदेखि नै पठन तथा लेखन संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए।

कैलाली विद्या निकेतनका संस्थापक प्रधानाध्यापक टोपेन्द्र शाहले विद्यार्थीको भाषा, अभिव्यक्ति, कल्पनाशीलता र सिर्जनात्मक क्षमता विकासका लागि कार्यशाला आयोजना गरिएको बताए। विद्यालयले विद्यार्थीको साहित्यिक रुचि र सिर्जनशीलता विकास गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

समापन कार्यक्रममा जनपुस्तकालयका अध्यक्ष शिवराज ओझालगायत साहित्य क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वको उपस्थिति थियो।