धनगढी कांग्रेसले भन्यो- ‘दुई अधिवेशन मान्दैनौँ, एकताबद्ध अधिवेशन गरौँ’

धनगढी । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व दुई धारमा विभाजित भएर छुट्टाछुट्टै महाधिवेशनको तयारीमा अघि बढिरहेका बेला धनगढी कांग्रेसले विभाजित अधिवेशन अस्वीकार गर्दै एउटै र एकताबद्ध अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ।
भदौ २९ गते सोमबार कैलाली जिल्ला पार्टी कार्यालयमा नगर सभापति यज्ञराज उपाध्यायको अध्यक्षतामा बसेको धनगढी उपमहानगरपालिका नगर कार्यसमितिको बैठकले पार्टीभित्र देखिएको विवादको समाधान सहमति र एकताबाट खोज्नुपर्ने निष्कर्ष निकालेको हो।
बैठकमा नगर कार्यसमितिका पदाधिकारी, क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरू सहभागी थिए। अधिकांश वक्ताले कांग्रेसभित्र छुट्टाछुट्टै अधिवेशन गर्ने तयारीप्रति असहमति जनाउँदै पार्टीको सांगठनिक एकता कायम राख्न एउटै अधिवेशनबाट नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए।
नगर कार्यसमितिका सचिव दिनेश खत्रीले पार्टीभित्र दुई समूहले फरक–फरक अधिवेशनको मिति तय गरेपछि धनगढी कांग्रेसले आफ्नो धारणा स्पष्ट गरेको बताए। उनका अनुसार नगर कार्यसमिति विभाजित प्रक्रियाको सट्टा एउटै र एकताबद्ध अधिवेशनको पक्षमा उभिएको छ।
नगर सभापति उपाध्यायले दुईवटा अधिवेशनले पार्टीभित्रको विवाद थप गहिर्याउने बताए। कांग्रेसको संगठन र एकता जोगाउन छुट्टाछुट्टै अधिवेशनको बाटो छाडेर एउटै अधिवेशन गर्नुपर्ने उनको भनाइ छ।
उपाध्यायका अनुसार धनगढी उपमहानगरपालिकाअन्तर्गतका वडा सभापतिहरूले समेत एकताको आधारमा एउटै अधिवेशन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै संस्थापन र संस्थापनइतर समूहले आ–आफ्नै अधिवेशन कार्यतालिका अघि सारेका छन्। संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
यही पृष्ठभूमिमा धनगढी नगर कार्यसमितिले विभाजित प्रक्रियाभन्दा सहमति र एकताका आधारमा एउटै अधिवेशन गर्नुपर्ने धारणा अघि सारेको हो।





प्रतिकृया दिनुहोस्