September 16, 2026, Wednesday
२०८३ भाद्र ३१

राप्रपामा पुस्तान्तरणको बहस चर्कियो, लिङ्देनलाई शाहीको चुनौती

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला अधिवेशनसँगै पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चर्किएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुनः नेतृत्वको तयारीमा रहेका बेला संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले लिङ्देनकै सामु नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठाएपछि राप्रपाको आगामी नेतृत्वबारे बहस थप पेचिलो बनेको छ।

मंगलबारसम्म ६३ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको राप्रपामा अबको नेतृत्व र पार्टीको राजनीतिक दिशालाई लिएर दुई धारणा सार्वजनिक रूपमा देखिन थालेका छन्।

मंगलबार कैलाली जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष लिङ्देनसहित सहभागी शाहीले पार्टीको आगामी महाधिवेशनलाई नेतृत्व परिवर्तनमा मात्र सीमित नगरी पार्टीलाई राष्ट्रिय शक्ति बनाउने दिशामा अघि बढाउनुपर्ने धारणा राखे।

शाहीले रूपान्तरण र पुस्तान्तरण हुन नसके पार्टी संरचनागत रूपमा कायम रहे पनि जनताको विश्वास गुम्न सक्ने बताए। ‘रूपान्तरण र पुस्तान्तरण अब गर्न सक्नु भएन भने हाम्रो पार्टी त हुन्छ, अध्यक्ष मात्र होइन, वरिष्ठ उपाध्यक्षहरू हुन्छन्, सर्वोच्च नेता पनि होलान् तर जनताले हामीलाई पत्याउँदैनन्,’ उनले भने।

पार्टी नेतृत्वमा पुस्तान्तरणको आवश्यकता औंल्याउँदै शाहीले कैलालीमै अध्यक्ष लिङ्देनतर्फ संकेत गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने धारणा राखे। उनले प्रधानमन्त्रीमा ३५ वर्षीय बालेन शाह आएको र नेपाली कांग्रेसमा शेरबहादुर देउवापछि गगन थापाको नेतृत्व आएको उदाहरण दिँदै राजनीतिक नेतृत्वमा पुस्तान्तरणको बहस अघि बढिरहेको बताए।

राप्रपाको नेतृत्वमा भने लिङ्देन पुनः एक कार्यकाल अध्यक्ष बन्ने तयारीमा छन्। २०७८ को महाधिवेशनमा लिङ्देनले तत्कालीन अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्ष बनेका थिए। त्यतिबेला पनि नेतृत्व परिवर्तन र समयअनुकूल पार्टी रूपान्तरणको मुद्दा उठेको थियो।

शाहीले जिल्ला अधिवेशनमा आफू धेरै ठाउँमा सहभागी नभएको प्रस्टीकरण पनि दिएका छन्। जिल्ला अधिवेशनमा सहभागी हुँदा गुट तथा उपगुटको अभ्यासमा संलग्न भएको देखिन सक्ने भएकाले आफू नपुगेको उनको भनाइ छ।

उनले पार्टीको आगामी नीति स्पष्ट हुनुपर्नेमा जोड दिँदै वर्तमान नेतृत्वको राजनीतिक व्यवहारमा प्रश्न उठाए। एमालेको आलोचना गर्ने तर उसैसँग चुनावी सहकार्य गर्ने, प्रदेश संरचनाबारे फरक–फरक धारणा राख्ने तथा विभिन्न प्रदेशमा फरक राजनीतिक भूमिका अपनाउने अवस्थाबारे उनले प्रश्न उठाएका हुन्।

‘एमालेलाई रातदिन गाली गर्ने, त्यही एमालेसँग मिलेर चुनाव उठ्ने, प्रदेश चाहिन्न भनेर भन्ने, प्रदेशमा चुनाव उठ्ने ? यस्तो दोहोरो चरित्र किन ?’ शाहीले प्रश्न गरे। उनले पार्टीले सबै ठाउँमा समान राजनीतिक व्यवहार र स्पष्ट नीति लिनुपर्ने बताए।

शाहीले आगामी अधिवेशन नेतृत्व परिवर्तनमा मात्र सीमित नभई पार्टीलाई राष्ट्रिय शक्ति र सत्ता निर्माण गर्न सक्ने राजनीतिक शक्तिका रूपमा विकास गर्ने अवसर हुनुपर्ने बताए। आगामी निर्वाचनलाई लक्षित गरेर पार्टीले अहिले नै आफ्नो नीति, राजनीतिक दिशा र चुनावी रणनीति स्पष्ट गर्नुपर्ने उनको धारणा थियो।

अध्यक्ष लिङ्देनले भने राप्रपालाई देशका समस्या समाधान र राष्ट्रिय मुद्दा स्थापित गर्ने बलियो विचार तथा दर्शनमा आधारित पार्टी बनाउने प्रयास भइरहेको बताए। उनले आफ्नो नेतृत्वमा पार्टी कमजोर भएको भन्ने आलोचनालाई अस्वीकार गर्दै आफू अध्यक्ष बन्दा राप्रपा राष्ट्रिय पार्टीसमेत नरहेको र संसद्मा एक सिट मात्र रहेको स्मरण गराए।

लिङ्देनका अनुसार उनको नेतृत्वमा पार्टीले १४ सिटसम्म प्राप्त गरेको र प्रदेशसभामा पनि २८ सिट पुगेको थियो। पार्टीका केही नेताले अहिले ठूलो कुरा गरे पनि विगतमा सरकारमा सहभागी हुनुपर्ने धारणा राख्दै सरकारमा सहभागी भएको उनले स्मरण गराए।