September 11, 2026, Friday
२०८३ भाद्र २६

भूमिहीन पहिचानमा राजनीति होइन, प्रमाण हेर्न नृप वडको सरकारलाई आग्रह

धनगढी । नेपाली कांग्रेसका नेता तथा धनगढी उपमहानगरपालिकाका पूर्वनगर प्रमुख नृपबहादुर वडले सुकुम्बासी तथा भूमिहीनको पहिचानमा राजनीतिक पहुँच र प्रभाव प्रयोग नगर्न सरकारसँग आग्रह गरेका छन्। उनले निष्पक्ष र वैज्ञानिक अध्ययनमार्फत वास्तविक भूमिहीन पहिचान गरी योग्य परिवारलाई तत्काल जग्गाधनी पुर्जा वितरण गर्न सरकारलाई दबाब दिएका हुन्।

वडले लामो समयदेखि सुकुम्बासी तथा ऐलानी जग्गामा बसोबास गर्दै आएका परिवारको वास्तविक अवस्था पहिचान गर्न तीनपुस्ते विवरण, बसोबासको अवधि, आर्थिक अवस्था र जग्गाको वास्तविक स्थिति अध्ययन गर्नुपर्ने बताए। अध्ययनबाट वास्तविक भूमिहीनको वर्गीकरण गरी प्राथमिकताका आधारमा पुर्जा वितरण गर्नुपर्ने उनको भनाइ छ।

उनले राजनीतिक पहुँच, व्यक्तिगत प्रभाव वा पक्षपातका आधारमा भूमिहीन पहिचान गरिए वास्तविक पीडित नागरिक अन्यायमा पर्ने चेतावनी दिए। भूमिहीनलाई कानुनी स्वामित्व प्रदान गर्दा प्रमाण, आवश्यकता र न्यायलाई मुख्य आधार बनाउनुपर्ने वडले बताए।

‘भूमिहीन नागरिकलाई केवल आश्वासन दिएर पुग्दैन, उनीहरूलाई सम्मानपूर्वक सुरक्षित बसोबास र कानुनी स्वामित्वको अधिकार सुनिश्चित गरिनुपर्छ,’ वडले भने।

भूमिहीनको समस्या वर्षौंदेखि समाधान हुन नसक्दा नागरिकमा निराशा बढेको भन्दै वडले पुर्जा वितरणको प्रक्रिया अनावश्यक रूपमा लम्ब्याउन नहुने बताए। वास्तविक भूमिहीन पहिचान भएपछि पुर्जा वितरणमा कुनै बहाना वा ढिलाइ स्वीकार्य नहुने उनको भनाइ छ।

सरकारले सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि भूमि समस्या समाधान आयोगमार्फत लगत संकलन, पहिचान, प्रमाणीकरण र जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। वडले आयोगको प्रक्रियालाई निष्पक्ष, पारदर्शी र परिणाममुखी बनाएर योग्य नागरिकलाई यथाशीघ्र जग्गाधनी पुर्जा उपलब्ध गराउन माग गरेका छन्।