रसुवा बाढीपीडितका लागि डोटीका ७८ वर्षीय थापाको एक लाख एक हजार २५ रुपैयाँ सहयोग

डोटी । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि डोटीका ७८ वर्षीय गोपाल थापाले एक लाख एक हजार २५ रुपैयाँ सहयोग गरेका छन्।
आदर्श गाउँपालिका–२ भारिकोट निवासी थापाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालमार्फत हस्तान्तरण गरेका हुन्।
रसुवामा बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि आफू पनि दुःखी भएको र पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको थापाले बताए।
“विपद् जहाँ आए पनि त्यसबाट पीडित हुने नेपाली नै हुन्। रसुवामा भएको ठूलो क्षतिले दुःखी बनायो। पीडितलाई राहत पुगोस् भनेर सहयोग गर्न पाउँदा खुसी लागेको छ,” उनले भने।
विपद्का बेला सरकारको राहत तथा उद्धार अभियानमा नागरिकस्तरबाट पनि सहयोग आवश्यक रहेको थापाको भनाइ छ। उनले आफ्नो क्षमताअनुसार विपद्मा परेका नागरिकलाई सहयोग गर्न सबैलाई आग्रह गरे।
थापाको सहयोगको स्थानीयस्तरमा समेत प्रशंसा भएको छ। स्थानीय देवीलाल रौतेडाले विपद्का बेला मानवीय सेवाको भावनासहित गरिएको सहयोग प्रेरणादायी भएको बताए। उनले थापाको दीर्घायु तथा सुस्वास्थ्यको कामनासमेत गरे।
चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सहयोगका लागि थापालाई धन्यवाद दिइन्। उनले विपद्का बेला नागरिकबाट प्राप्त हुने सहयोगले राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताइन्।
सहयोगदाता थापा विगतमा कालिका गाविसका उपाध्यक्षसमेत रहेका थिए। स्थानीयका अनुसार उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनकी श्रीमती पार्वती थापा महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत छिन्।
रसुवा बाढीपछि पीडितका लागि विभिन्न क्षेत्रबाट राहत तथा सहयोग जुटिरहेका बेला डोटीका एक ज्येष्ठ नागरिकले आफ्नो क्षमताअनुसार गरेको यो सहयोगले विपद्मा भौगोलिक दूरीभन्दा मानवीय संवेदना ठूलो हुन्छ भन्ने सन्देश दिएको छ।





प्रतिकृया दिनुहोस्