आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

काठमाडौँ । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक संसद्मा लैजाने तयारी गरेको छ। प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ।
कानुनमन्त्री सोबिता गौतमका अनुसार विधेयक तयार भइसकेको छ र मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा पेस गर्ने तयारी भइरहेको छ।
मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत आजको व्यस्त जीवन, कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित हुँदै गएको उल्लेख गरेकी छन्। यस्तो अवस्थामा जीवनमा सीमितपटक आउने मातृत्व र पितृत्वको समयमा अभिभावकलाई नवजात शिशु र परिवारका लागि पर्याप्त समय उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ।
प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा ६ महिनाको तलबसहित प्रसूति बिदा पाउनेछिन् भने बुबाले ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा पाउनेछन्। यसले नवजात शिशुको प्रारम्भिक स्याहारमा बुबाको भूमिकालाई समेत कानुनी रूपमा सम्बोधन गर्नेछ।
मन्त्री गौतमले बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको बताएकी छन्। उनका अनुसार अभिभावकत्व संयुक्त जिम्मेवारी भएकाले त्यसलाई व्यवहारमै स्थापित गर्ने उद्देश्यले बिदासम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो।
विधेयक संसद्बाट पारित भएर कानुन बनेमा प्रसूति बिदासँगै पितृत्व तथा नवजात शिशु स्याहारका लागि बुबाले पाउने बिदाको अवधि पनि उल्लेख्य रूपमा विस्तार हुनेछ।





प्रतिकृया दिनुहोस्