September 16, 2026, Wednesday
२०८३ भाद्र ३१

असोजमा पनि घट्यो बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतीको औसत ४.०९ प्रतिशतमा झर्‍यो

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार निक्षेपमा दिने ब्याजदर फेरि घटेको छ। २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा दिइने अधिकतम ब्याजदरको औसत भदौको तुलनामा .०४६ प्रतिशत बिन्दुले घटेर ४.०८९६ प्रतिशत कायम भएको छ।

भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत ४.१३६० प्रतिशत थियो। त्यसअघि साउनमा यो दर ४.१६७५ प्रतिशत रहेको थियो। अर्थात् पछिल्ला दुई महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर निरन्तर घटेको देखिन्छ।

असोजका लागि ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये चार बैंकले ब्याजदर घटाएका छन् भने १६ बैंकले भदौकै दरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकमा नबिल, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंक छन्।

बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर ४.५५ प्रतिशतभन्दा तल झारेका छन्। असोजमा प्रभु बैंकको ब्याजदर तुलनात्मक रूपमा बढी देखिए पनि ४.५५ प्रतिशतको दर लामो अर्थात् १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्रै लागू हुने व्यवस्था छ। अवधि छोटो हुँदै जाँदा ब्याजदर पनि कम हुने गर्छ।

निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दरमा समेत दबाब पर्ने र त्यसको प्रभाव कर्जाको ब्याजदरमा देखिन सक्ने हुन्छ। व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घटेसँगै बचत तथा संस्थागत निक्षेपको लागत पनि घट्ने भएकाले बैंकहरूको समग्र कोष लागत कम हुने अवस्था बन्छ।

यद्यपि, पुरानो मुद्दती निक्षेपको हकमा नयाँ ब्याजदर तत्काल लागू हुँदैन। पहिले नै लामो अवधिका लागि मुद्दती खाता खोलेका ग्राहकले खाता खोल्दाका सर्तअनुसारकै ब्याजदर पाउनेछन्। असोजमा नयाँ खोलिने वा अवधि पूरा भएर नवीकरण हुने मुद्दती निक्षेपमा भने असोजकै नयाँ ब्याजदर लागू हुनेछ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा माग तथा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्दा निक्षेपको ब्याजदर घटाउने प्रवृत्ति देखिएको छ। वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पनि विभिन्न मौद्रिक उपकरणमार्फत तरलता खिच्दै आएको छ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता र अन्तरबैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायतका उपकरण प्रयोग गर्दै आएको छ। यसको प्रभावस्वरूप बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहँदा निक्षेप र कर्जाको ब्याजदरमा क्रमशः कमी आउने अवस्था देखिएको हो।

व्यक्तिगत मुद्दतीमा कुन बैंकको ब्याजदर कति ?

बैंकभदौको ब्याजदर %असोजको ब्याजदर %
कृषि विकास४.१५४.१५
सिटिजन्स३.८५३.८५
एभरेस्ट४.०५३.५०
ग्लोबल आईएमई४.००४.००
हिमालयन४.००४.००
इन्भेस्टमेन्ट मेगा४.५०४.५०
कुमारी३.७६३.७३
लक्ष्मी सनराइज४.००४.००
माछापुच्छ्रे४.५०४.५०
नबिल४.५५४.२५
नेपाल४.१५४.१५
नेपाल एसबीआई४.१०४.१०
एनआईसी एसिया४.००४.००
एनएमबी४.५०४.५०
प्राइम कमर्सियल४.००४.००
प्रभु४.५५४.५५
राष्ट्रिय वाणिज्य४.००४.००
सानिमा४.५०४.५०
सिद्धार्थ३.७६३.७६
स्ट्यान्डर्ड चार्टर्ड३.८०३.७५