प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही

डोटी । नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस तथा पत्रकारमाथि सामाजिक सञ्जालमार्फत हुने साइबर आक्रमण, मानहानी र अभद्र व्यवहारविरुद्ध सिधै कानुनी लडाइँ लड्ने निर्णय गरेको छ।
आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष पवन महरा नेतृत्वको नयाँ कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले पत्रकारिता क्षेत्रको मर्यादा, मिडियाको संरक्षण र पत्रकारको सुरक्षालाई प्राथमिकतामा राख्दै चार महत्वपूर्ण निर्णय गरेको हो।
साइबर आक्रमणविरुद्ध कानुनी कारबाही
समाचारप्रति असहमति वा गुनासो भए कानुनी तथा प्रक्रियागत बाटो हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकार र मिडिया हाउसमाथि अपशब्द, अभद्र व्यवहार तथा मानहानी गर्ने प्रवृत्ति बढेको भन्दै शाखाले आपत्ति जनाएको छ।
यस्ता गतिविधिले पत्रकारिता पेशाकै मर्यादा र विश्वसनीयतामाथि असर पार्ने भन्दै व्यक्ति, समूह वा समुदायबाट हुने साइबर आक्रमणविरुद्ध अब सिधै कानुनी प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ।
साइबर अपराध तथा पत्रकारितासम्बन्धी कानुनी विषयमा आवश्यक परामर्श र सहयोगका लागि अधिवक्ता लवदेव भट्टलाई शाखाको कानुनी सल्लाहकार चयन गरिएको छ। शाखाले पत्रकारहरूलाई भने पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्य, तथ्य र निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।
मिडिया हाउसको अवस्था अध्ययन गरिने
डोटीमा सञ्चालित मिडिया हाउसहरू आर्थिक संकटमा पर्दै गएको भन्दै शाखाले जिल्लाका सञ्चारमाध्यमको वास्तविक अवस्था अध्ययन गर्ने निर्णय गरेको छ।
कमजोर विज्ञापन बजार, दक्ष जनशक्तिको अभाव तथा मिडियाले पाउँदै आएका सेवा–सुविधामा भइरहेको कटौतीका कारण कतिपय सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुगेको शाखाको निष्कर्ष छ।
जिल्लाका मिडिया हाउसको स्थलगत अवलोकन गरी तथ्यगत प्रतिवेदन तयार गर्ने र सम्बन्धित सरोकारवाला निकायमा पेश गर्ने निर्णय बैठकले गरेको छ। सञ्चार क्षेत्रका समस्या समाधानका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने पनि शाखाले जनाएको छ।
भोटेकोशी बाढीपीडितप्रति श्रद्धाञ्जली
भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति प्रेस युनियन डोटीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धार गर्न, पीडितलाई उचित राहत उपलब्ध गराउन र सुरक्षित तथा व्यवस्थित पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग शाखाले माग गरेको छ।
त्यस्तै, अधिवेशन तथा साधारण सभा सफल बनाउन सहयोग गर्ने व्यक्ति, संघसंस्था र सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै शाखाले आफ्नो बैंक खाता परिवर्तन गर्ने निर्णयसमेत गरेको छ।
नवनिर्वाचित अध्यक्ष महराले पत्रकारको सुरक्षा, क्षमता विकास, मिडियाको संरक्षण तथा जिल्लाको समग्र सञ्चार क्षेत्रको विकासका लागि आगामी दिनमा प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन्।





प्रतिकृया दिनुहोस्