सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, मुद्दा फाँटमा क्षति

काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवनमा रहेको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
बुधबार बिहान करिब साढे ८ बजे नयाँ भवनको भुइँ तलामा रहेको २० र २१ नम्बर मुद्दा फाँटमा आगलागी भएको देखिएपछि तत्काल नियन्त्रणमा लिइएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार आगलागीबाट मुद्दा फाँटमा रहेका तीन वटा कम्प्युटर, टेबल तथा कुर्सीमा क्षति पुगेको छ। तर महत्वपूर्ण मिसिल तथा कागजातमा भने क्षति नभएको उनले बताए।
‘गएरातिको समयमा विद्युत् सर्ट भएर आगलागी भएको देखिन्छ। ढोका बन्द रहेको अवस्थामा आगलागी भएकाले कार्यालय खुलेपछि मात्रै घटनाबारे जानकारी भएको हो,’ प्रवक्ता कोइरालाले भने, ‘महत्वपूर्ण मिसिल तथा फाइलहरू सुरक्षित छन्।’
सर्वोच्च अदालतमा पछिल्लो समय आगलागीको यो दोस्रो घटना हो। भदौ १७ गते राति सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो।
यसअघि २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको पुरानो भवनमा आगजनी भएको थियो। त्यसपछि अदालतले एनेक्स भवन र निर्माणाधीन नयाँ भवनबाट आफ्नो कामकारबाही सञ्चालन गर्दै आएको छ। अहिले निर्माणाधीन भवनको एक भागमा इजलास तथा प्रशासनसमेत सारिएको छ।





प्रतिकृया दिनुहोस्