September 16, 2026, Wednesday
२०८३ भाद्र ३१

दल त्याग गर्ने दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

काठमाडौँ । निर्वाचन आयोगले पुरानो दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ।

आयोगले सम्बन्धित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा सूचना प्रकाशन गर्दै उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो।

आयोगका अनुसार मधेस प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जनप्रतिनिधिको पद रिक्त भएको छ।

मधेस प्रदेशअन्तर्गत धनुषाको शहीदनगर नगरपालिका–५ का वडाध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिका–६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिका–५ का वडाध्यक्ष शीबा पासमान र मिथिला नगरपालिका–२ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको छ।

त्यस्तै, कोशी प्रदेशमा खोटाङको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष तुलाराम राई, बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई र मोरङको धनपालथान गाउँपालिका–५ का वडाध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको आयोगले जनाएको छ।

बागमती प्रदेशअन्तर्गत दोलखाको जिरी नगरपालिका–६ का वडाध्यक्ष मर्जितबहादुर खड्का र वडा नं. ३ का वडाध्यक्ष खेटराज घिमिरेको पद पनि दल त्यागका कारण रिक्त भएको छ।

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पदसमेत रिक्त भएको आयोगको सूचनामा उल्लेख छ।

आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलबाट निर्वाचित भएका र पछि अन्य राजनीतिक दलमा प्रवेश गरेका जनप्रतिनिधिको विवरण सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा प्राप्त भएको थियो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएपछि सम्बन्धित स्थानीय तहका निर्वाचित पद रिक्त भएको आयोगले जनाएको छ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको जनाएको छ।