विद्या भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाउने ओलीको प्रस्ताव, केन्द्रीय समितिबाट अनुमोदन हुने

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गर्ने प्रस्ताव गरेको हो।
एमाले नेता माधव ढुंगेका अनुसार सचिवालयको प्रस्तावलाई अब बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ। भण्डारी यसअघि एमालेकी उपाध्यक्षसमेत रहिसकेकी छन्।
पार्टीभित्र पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेतामा प्रस्ताव गरेका हुन्। यसअघि भण्डारीले एमालेको सदस्यता लिने विषयमा ओलीसँग विवाद भएको थियो।
सचिवालय बैठकले अध्यक्ष ओलीद्वारा केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदन पनि अनुमोदन गरेको छ। उपमहासचिव लेखराज भट्टका अनुसार प्रतिवेदनले पार्टीभित्र एकताको नयाँ भाव पैदा गरेको छ।
च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले अध्यक्षको प्रतिवेदनलाई एकरूपताका साथ अध्ययन गरी तल्लो तहसम्म प्रभावकारी रूपमा सम्प्रेषण गर्ने निर्णय गरेको छ। बैठकमा पार्टी एकतामा सहभागी भएका तथा विभिन्न ठाउँबाट एमालेमा प्रवेश गरेका नेता–कार्यकर्तालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने विषयमा पनि छलफल भएको भट्टले जानकारी दिए।
स्थायी कमिटी गठनका विषयमा समेत केही खाका तयार गरी टुंगो लगाइएको एमालेले जनाएको छ। तर नामहरू भने केन्द्रीय कमिटी बैठकबाट औपचारिक निर्णय भएपछि मात्रै सार्वजनिक गरिने भट्टको भनाइ छ।
आज बसेको सचिवालय बैठकले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ। ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अम्गाईंलाई स्थानीय कमिटी सदस्यमा मनोनीत गरेको हो। उनीहरूको नाम केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ ।
केन्द्रीय कमिटी बैठकमा छलफलपछि आवश्यक परे बाँकी निर्णय टुंग्याउने अधिकार सचिवालयलाई प्रत्यायोजन गर्ने समझदारीसमेत भएको उनले बताए।





प्रतिकृया दिनुहोस्